‘जन्ते बाख्रो’को गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । स्पर महेश र अस्मिता अधिकारीको छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा आशिफले गीत मार्फत् गरिमाको सुन्दरताको तारिफ गरेर फकाउने प्रयास गरेका छन् ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्रमा गरिमा र आशिफसँगै सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ ।

जेठ २३ गतेबाट नेपाल विदेशमा एकसाथ रिलिज गरिने सिनेमामा हरि हुँमागाईको डिओपी छ ।