विश्वको सबैभन्दा विवादित सिनेमा

काठमाडौं । सन् १९७५ मा निर्माण भएको इटालियन चलचित्र ‘सालो एण्ड द १२० डेज अफ सदोम’ अझै पनि विश्व सिने इतिहासको सबैभन्दा विवादित सिनेमाको रूपमा चिनिन्छ । क्रूरता, नग्नता र यौनजन्य यातनाको अत्यन्त ग्राफिक चित्रणले गर्दा यो चलचित्रले सिनेमा प्रेमी र समीक्षकबीच गहिरो बहसको विषय बन्यो ।
निर्देशक पियर पाओलो पासोलिनीद्वारा निर्देशित यस चलचित्रमा फासीवादी शासनकालका चार धनी र भ्रष्ट राजनीतिज्ञहरूले युवाहरूलाई अपहरण गरी उनीहरूमाथि गरेको शारीरिक, मानसिक र यौन शोषण प्रस्तुत गरिएको छ ।
सन् ७० को दशकको युरोपेली सिनेमा जहाँ प्रयोगात्मक शैली हावी थियो, त्यही बेला यो फिल्मले सीमाना पार गर्दै अत्यन्तै अश्लील र हिंसात्मक दृश्यमार्फत सत्ताको विकृति उजागर गरेको थियो ।
चलचित्र सार्वजनिक भएपछि विभिन्न देशमा व्यापक विरोध भयो । पेरिस फिल्म फेस्टिभलमा प्रदर्शित भएको केही समयपछि इटलीमा रिलिज भए पनि सन् १९७६ को जनवरीमा त्यहाँ प्रतिबन्ध लगाइयो । अष्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, अमेरिका, एशिया र अफ्रिकालगायत झन्डै १०० देशमा यो सिनेमा प्रतिबन्धित बनाइयो र धेरै देशमा आज पनि प्रतिबन्ध कायमै छ ।
तर सन् १९७७ मा अमेरिका प्रवेश गरेको सिनेमाले त्यहाँ पनि अश्लीलता र समाजविरोधी विषयवस्तुको कारण कानुनी समस्याहरू भोग्नुपर्यो । समीक्षकहरू पनि यसबारे विभाजित देखिए । केहीले यसलाई सत्ताको कालो अनुहार देखाउने कला फिल्म भनेका छन् भने, धेरैले यसलाई अति क्रूर र अमानवीय भने ।
द न्यु योर्क टाइम्सका चर्चित समीक्षक भिन्सेन्ट क्यानबीले यो चलचित्र हेर्नु आत्मालाई चिर्ने अनुभव भएको बताए । यस्तै, प्रख्यात आलोचक रोजर एबर्टले पनि यस्तो सिनेमा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका थिए।
यो चलचित्रको अझ एक रहस्यमय पक्ष भनेको निर्देशक पासोलिनीको मृत्यु हो । सिनेमा सार्वजनिक हुनु केही हप्ता अघि, नोभेम्बर १९७५ मा पासोलिनीको निर्ममतापूर्वक हत्या भयो । उनको शवलाई कारले किचिएको, हड्डीहरू भाँचिएका र पोष्टमार्टम रिपोर्टमा गुप्तांगसमेत क्षतविक्षत भएको उल्लेख छ ।
उनको हत्या पछाडि विभिन्न आशंकाहरू उठाइए- गुण्डा नाइकेदेखि लिएर राजनीतिक षड्यन्त्रसम्म । तर, दशकौं बितिसक्दा पनि पासोलिनीको हत्या अझै रहस्यमयकै गर्भमा छ ।
यो चलचित्र र यसको निर्देशकको मृत्यु सधैंका लागि सिनेमा इतिहासको एउटा अनसुल्झिएको अध्याय बनेको छ।