पोखरामा ‘ऊनको स्वीटर साँझ पोखरा’मा…

पोखरा । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । शुक्रबार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो ।
फेवा किनारको हल्लनचोकमा आयोजित कार्यक्रममा सुजनले हजारौँ दर्शकबीच आफ्नो प्रस्तुति दिए । उनले ऊनको स्वीटर का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे ।
कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बू, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहानलगायतको उपस्थिति थियो ।
कार्यक्रममा तीन नयाँ पोस्टरहरू सार्वजनिक गरियो । अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै चलचित्र ऊनको स्वीटर मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे ।
वैशाख २६ गतेबाट रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो ।
विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।