अनुराग कश्यपको कानुनी समस्यामा थपिँदै

काठमाडौं । चर्चित भारतीय चलचित्र निर्माता तथा निर्देशक अनुराग कश्यप ब्राह्मण समुदायविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण थप कानुनी समस्यामा परेका छन् । सामाजिक सञ्जालमा माफी मागे पनि उनको संकट टरिरहेको छैन ।

सुरतस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी (जेएमएफसी) अदालतले कश्यपलाई मे ७ मा अदालतमा अनिवार्य रूपमा उपस्थित हुन आदेश दिएको छ । यो आदेश सुरतका वकिल कमलेश रावलद्वारा दायर गरिएको उजुरीको आधारमा जारी गरिएको हो । वकिल रावलले कश्यपको विवादास्पद पोस्ट र पछिल्लो माफीसम्बन्धी प्रमाणहरू अदालतमा पेश गरेका थिए ।

वकिल रावलका अनुसार “अनुराग कश्यपले ब्राह्मण समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । जब आदित्य दत्त नामका एक व्यक्तिले उनलाई यस्तो टिप्पणी नगर्न आग्रह गरे, कश्यपले झन् अपमानजनक शब्द प्रयोग गरे ।”

यिनै अभिव्यक्तिहरूका कारण कानुनी कारबाही सुरु गरिएको रावलको भनाइ छ ।

यदि मे ७ मा अनुराग वा उनका प्रतिनिधि अदालतमा उपस्थित भएनन् भने, अदालतले उनीविरुद्ध एकतर्फी निर्णय सुनाउन सक्नेछ।

यता, अनुराग कश्यपले मंगलबार फेरि सामाजिक सञ्जालमार्फत माफी माग्दै आफ्नो “रिसले होस गुमाएको” स्वीकार गरेका छन् । उनले भविष्यमा शब्द छनोटमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा आक्रोश कम हुन सकेको छैन ।

बिवाद गत शुक्रबार सुरु भएको थियो । जब कश्यपले इन्स्टाग्राममा एक प्रयोगकर्तालाई जवाफ दिँदै ब्राह्मण समुदायबारे आपत्तिजनक टिप्पणी गरेका थि ए। त्यसपछि उनले व्यापक आलोचना झेल्नुपरेको छ ।

अनुराग कश्यप नेपाली चलचित्र ‘राजागञ्ज’ का सह-निर्माता समेत हुन् । यो सिनेमामा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आँप झर्यो’ सम्बद्ध विवादपछि चर्चामा आएको थियो ।

केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड )ले सो सिनमा कट गरे पछि ‘अभिब्यक्ति स्वतन्त्रता हनन’ भन्दै नेपालमा बहससमेत भएको थियो । तर, चलचित्र ‘राजागञ्ज’ व्यवसायिक रूपमा भने असफल भएको थियो ।