बक्स अफिसमा लगातार कमजोर अक्षय कुमार

मुम्बई । बलिउडका ‘खिलाडी’ अक्षय कुमार सधैंजस्तै २०२५ मा पनि थुप्रै सिनेमाहरू लिएर दर्शकको सामु आएका छन् । तर दुर्भाग्यवश, वर्षको सुरुवाती दुई महिनामै रिलिज भएका उनका दुबै चलचित्रहरू अपेक्षा अनुसार सफल हुन सकेनन् । पछिल्ला केही वर्षदेखि अक्षयका सिनेमाहरू बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेका छन्, यो क्रम २०२५ मा पनि रोकिएको छैन ।
विशेषगरी, अक्षयले धेरै आशा गरेको ‘केसरी २’ ले पनि बक्स अफिसमा धमाका गर्न असफल रह्यो । चलचित्र समिक्षकहरूका अनुसार ‘केसरी २’को असफलताको पछाडि ५ मुख्य कारणहरू रहेका छन् ।
तथ्यसँग खेलवाड
‘केसरी २’ ‘द केस दैट शुक द एम्पायर’ नामक पुस्तकबाट प्रेरित छ । तर चलचित्रमा ऐतिहासिक घटनाहरूलाई अत्यधिक काल्पनिक बनाइएको छ, जसले दर्शकमाझ असन्तुष्टि जन्माएको छ । फिल्ममा जनरल डायरविरुद्धको मुद्दा भारतमा चलाइएको देखाइएको छ, तर वास्तविकतामा त्यो मुद्दा बेलायतमा सुनुवाइ भएको थियो। यस्तो तथ्य फेरबदलले फिल्मप्रति विश्वसनीयता घटाएको र सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेको देखिन्छ ।
अक्षय र माधवनबीच कमजोर टकराव
चलचित्रमा आर. माधवनको अभिनय बलियो भए पनि अक्षय कुमारसँग उनको केमिस्ट्री कमजोर देखिएको छ । सुरुवातमै दुवै पात्रलाई थोरै स्क्रिन स्पेस दिइएको छ, र तिनीहरूका संवादहरू पनि दर्शकलाई तान्न सक्ने खालका छैनन् । जबकि आर. माधवनले ‘शैतान’ फिल्ममा अजय देवगनसँग गज्जबको भिडन्त देखाएका थिए, यहाँ त्यो स्तरको प्रभाव देखिएको छैन ।
सुस्त कथा र कमजोर सम्पादन
‘केसरी २’को कथावाचन शैली अत्यन्त सुस्त र तन्किएको छ। फिल्मको पटकथा चुस्सो हुन नसकेकाले कोर्टरूम ड्रामाको उचाइमा पुग्न सकेन । अत्यधिक लम्बाइ र कमजोर सम्पादनका कारण दर्शकहरू बीचबीचमा बोर भएका देखिएका थिए । कथाको गतिमा तेजोस्विता नहुँदा दर्शकहरूको चासो घटेको अनुमान गरिएको छ ।
पहिलो भागको जादु दोहोरिन सकेन
अक्षय कुमारको ‘केसरी’ फिल्मलाई उनीहरूको करियरकै उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ । त्यसैले दर्शकहरूले दोस्रो भागबाट पनि त्यस्तै स्तरको प्रदर्शन र भावना अपेक्षा गरेका थिए । तर ‘केसरी २’ ले त्यो स्तरको ऊर्जा दिन सकेन । बक्स अफिस कलेक्शनको कुरा गर्दा, फिल्मले १० दिनमा करिब ५७ करोड भारु मात्रै कमाइ गरेको छ, जबकि यसको निर्माण लागत करिब १५० करोड भारु रहेको बताइएको छ । यो हिसाबले लगानी फिर्ता हुने सम्भावना निकै न्यून देखिन्छ ।
राम्रो संवाद र गीतको अभाव
फिल्ममा प्रभावकारी संवादहरूको कमी छ । ‘केसरी’को जस्तो संस्मरणीय गीत र संवादहरू ‘केसरी २’ मा पाउन सकिएनन् । राम्रो गीत र दमदार संवादको अभावले फिल्मलाई थप कमजोर बनाएको छ । दर्शकहरूको मनमा बस्न सक्ने सामग्री नहुनु फिल्मको अर्को नकारात्मक पक्ष बनेको छ ।