‘माया प्रीति’मा दिव्याको जोडी आशीर्वाद

काठमाडौं । अभिनेत्री तथा निर्मात्री निशा अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको प्रवेश भएको छ ।

केही समयअघि एक पोस्टरमार्फत अभिनेत्री दिव्या रायमाझीको जोडीका लागि अडिसन आह्वान गरेको निर्माण टिमले हालै आशीर्वादको औपचारिक अनुबन्ध भएको जानकारी दिएको हो ।

नयाँ पुस्ताको प्रेम कथामा आधारित भएर रोमान्टिक कमेडीमा बन्न लागेको यो चलचित्रमा आशीर्वाद र दिव्याको प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले जानकारी गराएका छन् ।

केही समयदेखि कार्यशालामा रहेको यो चलचित्र वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ । छायाङ्कनका लागि तयारीको अन्तिम चरणमा रहेको यस चलचित्रको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन् ।

एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण हुन लागेको ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको छ ।

चलचित्र ‘नाई नभन्नु ल ६’बाट करिअर सुरुवात गरेका आर्शिवादले यसपछि ‘श्री बुकुरो’मा पनि काम गरिसकेका छन् ।

यस चलचित्र मार्फत अभिनेत्री अधिकारी आठ वर्षपछि सिनेमा निर्माणमा फर्किएकी छिन् ।