‘मोहर’को फस्टलुक सार्वजनिक, पल, बेनिशा र नीति फरक गेटअपमा

काठमाडौं । साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले बुधबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई आकर्षक ढंगले प्रस्तुत गरेकाे छ ।

पोस्टरमा अभिनेता पल शाह गम्भीर मुद्रामा देखिन्छन् भने अभिनेत्री बेनिशा हमाल डरको भावमा र नीति शाह हर्षित मुद्रामा प्रस्तुत भएकी छन् । यस्तै, अभिनेता अर्जुन जंग शाहीलाई पनि पोस्टरमा स्थान दिइएको छ ।

ओम प्रतिकको लेखन र निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।

फिल्म मेकर्स प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह र अर्जुन जंग शाहीसँगै मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय रहेकाे छ ।

दीपेन बस्न्यातको छायांकन रहेको ‘मोहर’मा कुमार महर्जनको एक्सन निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, तथा प्रमोद ढुंगाना र हर्क साउदको शब्द रहेको छ ।

चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् भने नृत्य निर्देशन कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् । लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो ।