तेस्रो राष्ट्रिय लेखक दिवस सम्पन्न, आख्यानकार ध्रुवचन्द्र गौतमलाई राष्ट्रिय लेखक पुरस्कार

काठमाडौं । नेपाली लेखक संघले तेस्रो राष्ट्रिय लेखक दिवस भव्य रूपमा मनाएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित कार्यक्रममा लेखक तथा साहित्यकारको उल्लेखनीय योगदानको सम्मान गर्दै विभिन्न कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे थिए । उनले लेखक र साहित्यकारप्रतिको सम्मान लोकतन्त्रप्रति समर्पणको प्रतीक भएको बताए । “लेखनमा लगाम लगाउन खोज्दा सिर्जनात्मकता गुम्छ,” उनले भने, “आजको पुस्ता लेखन, गायन, राजनीति लगायतका क्षेत्रमा अघि बढेको भए पनि गुणस्तर कायम गर्नुपर्ने चुनौती छ ।”

यस अवसरमा आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिएको छ । दुई वर्षमा एकपटक प्रदान गरिने यो पुरस्कार अन्तर्गत उनलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरियो । पुरस्कार ग्रहण गर्दै गौतमले लेखनलाई साधना ठानी कार्य गर्न सबै लेखकहरूलाई आग्रह गरे। “लेखकभित्र सधैं चाहना, अभ्यास र निरन्तरता हुनुपर्छ,” उनले भने ।

कार्यक्रममा समीक्षक अनुपमा रेग्मीले गौतमको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै नेपाली साहित्यमा उनको योगदान उल्लेखनीय रहेको बताइन् ।

संघले यस अवसरमा देशभरका ३२ जना वरिष्ठ लेखक तथा साहित्यकारलाई मानार्थ सम्मान पनि गरेको छ । सम्मानित हुनेहरूमा बैरागी काइँला, नरहरि आचार्य, तोया गुरुङ, भुवन ढुंगाना, बलदेव शर्मा मजगैँया, मञ्जु काँचुली, कृष्ण गौतम, हेमाङ्गराज अधिकारी, गोविन्दराज भट्टराई, वनमाली निराकार, ज्ञानुवाकर पौडेल लगायत छन् ।

प्रगतिशील लेखक संघका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले लेखक संघले थालनी गरेको अभियान अनुकरणीय भएको बताए । ‘समाज रूपान्तरणका लागि लेखकहरू एकजुट हुनु आवश्यक छ,’ उनले भने ।

साहित्यकार बैरागी काइँलाले सामाजिक सञ्जालमा राष्ट्रियता र देशप्रतिको भावनामा कमी आउन थालेकोप्रति चिन्ता व्यक्त गर्दै साहित्यकारहरूको भूमिका अझै प्रभावकारी हुनुपर्ने धारणा राखे ।

संघका अध्यक्ष वियोगी बुढाथोकीले लेखक दिवसको माध्यमबाट लोकतन्त्रको संरक्षण र साहित्यको सशक्तीकरणमा लेखकहरूको सहकार्य महत्वपूर्ण रहेको बताए । संघका महासचिव सोझो गाउँलेले २०८० सालदेखि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको र हाल उपत्यकासहित विभिन्न जिल्ला तथा प्रदेशमा समेत कार्यक्रम गरिएको जानकारी दिए ।

वैशाख १६ लाई ऐतिहासिक रूपमा ‘पुस्तकालय पर्व’ को रूपमा स्मरण गरिँदै आएको छ, जुन दिन राणाकालमा लेखकहरूलाई पुस्तकालय खोल्न खोज्दा दण्डित गरिएको थियो । यही दिनलाई संघले लेखक दिवसका रूपमा मनाउँदै आएको हो ।