‘जन्ते बाख्रो’को नयाँ पोस्टरमा के छ ?

काठमाडौं । सिमोश सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

आगामी जेठ २३ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्माण पक्षले बिहिवार सार्वजनिक गरेको पोस्टरमा हास्य, रहस्य, ग्रामीण परिवेश र सामाजिक यथार्थ मिसिएको देख्न सकिन्छ ।

रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूसहित एउटा बाख्रोलाई विशेष रुपमा प्रस्तुत गरिएको छ । जहाँ गुलाबी चश्मा लगाएको बाख्रोलाई अगाडि राखिएको छ, जसले कथाको केन्द्रमा यस बाख्रोसँग सम्बन्धित रहस्य र हास्यपूर्ण मोड हुने संकेत गर्छ ।

यस्तै, यो सिनेमाको पोस्टरमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायत कलाकारहरूलाई पनि देख्न सकिन्छ ।

मुईन इन्टरटेनमेन्ट को प्रस्तुति रहेको चलचित्र जन्ते बाख्रो लाई सन्तोष गौतमले निर्माण गरेका हुन् भने कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

चलचित्रमा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेरको समेत अभिनय रहेको छ ।

चलचित्रको छायांकन निर्देशन हरि हुमागाईंले गरेका छन् भने उत्तम हुमागाईंले छायांकन र सुनिल शिवभक्तिले सम्पादन गरेका छन् ।

चलचित्रको कथा नेपाली समाजमा जन्ती भोजका अवसरमा खुवाइने बाख्रालाई केन्द्रमा राखेर बुनेको सामाजिक व्यङ्ग्य हो । यस्तै जन्ती भोजमा दिइने बाख्रोलाई जन्ते बाख्रो भनिने चलनबाटै चलचित्रको शीर्षक प्रेरित छ ।

केही समयअघि सार्वजनिक गरिएको चलचित्रका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय भइरहेका छन् ।