अब दर्शक ठग्ने योजना नल्याऊ

चलचित्र निसन्देह व्यापार हो । कलाको व्यापार हो । कलालाई कसरी बेच्ने, कुन तरिकाले बेच्ने भन्ने मात्रै हो । अथवा जसले कलात्मक हिसाबले कलाको व्यापार गर्छ, त्यो सफल चलचित्र निर्माता हो । कलाको व्यापारी हो । यसमा लाज मान्नुपर्ने केही छैन ।
कसैले चलचित्र मेरा लागि सुद्ध कला मात्रै हो भन्छ भने त्यो निर्माता ढोँगी हो । प्रत्यक्ष÷परोक्ष रूपमा चलचित्र बिजनेस नै हो ।
चलचित्र बिजनेस भएपछि, यसलाई बेच्ने नै हो । कसरी सकेसम्म धेरै बेच्ने भन्नेमा निर्माता केन्द्रित हुन्छन् । यो स्वभाविक हो ।
अझ प्रष्ट भन्नुपर्दा चलचित्र कसरी बेच्ने भन्ने त्यो कला नेपाली निर्मातामा कमी छ । अथवा चलचित्र बनाएर त्यसलाई कसरी सकेसम्म धेरै दर्शकमाझ बेच्ने अथवा हलसम्म कसरी धेरै भन्दा धेरै दर्शकलाई तान्ने त्यो कला नेपाली निर्मातामा कम छ ।
तर, यसका लागि केही प्रयास भने हुन थालेको छ । भिन्न तरिका अपनाउन निर्माताले थालेका छन् । यसको प्रभावकारिता कति भइरहेको छ भन्ने मात्रै हो ।
निर्माताले प्रचारमा मोटो रकम खर्च गर्न थालेका छन् । प्रचारको तरिका बदल्न थालेका छन् । कर्पोरेट शैलीमा प्रचार हुन थालेको छ ।
यहीबीच एउटा नयाँ कुरा यतिबेला बाहिर आएको छ, निर्माताले नै हलमा सिनेमाको टिकट काट्न थालेको । आफैँले बनाएको चलचित्रको टिकट निर्माताले आफैँ किन्ने गरेका समाचार नै आउन थालेको छ ।
चलचित्रको टिकट निर्माता आफैँले १५÷२० लाख रुपैयाँसम्मको काट्ने गरेको तथ्य सार्वजनिक हुन थालेको छ । निर्माता र वितरक स्वयंले यो कुरा स्वीकारेका छन् ।
सुरुका दिनमा दशर्कले टिकट काटेनन् भने निर्माताले टिकट काटेर सिनेमा चलेको देखाएर दर्शकलाई आकर्षित गर्ने योजनाअन्तर्गत यस्तो हुने गरेको छ ।
अर्को कारण, सुरुकै दिनहरूमा हलमा दर्शक भएनन् भने वर्ड अफ माउथका लागि पनि दर्शक हुँदैनन् र राम्रा चलचित्र पनि चल्दैनन् भन्ने डरले निर्माताले टिकट काटेको देखिन्छ ।
तर, अब यो तथ्य सार्वजनिक भइसकेको छ । आम दर्शकले थाहा पाइसकेका छन् । निर्माता आफैँले टिकट काटेको थाहा भइसकेको छ । अब यो योजनाले पनि काम गर्ने छैन ।
यो योजनाले कति सफल भयो वा भएन त्यो समीक्षाको विषय हो । तर, एउटा सत्य चाहिँ निर्माताले स्वीकार्नुपर्छ, यो एक हिसाबले दर्शकमाथिको विश्वासघात हो । अझै प्रष्ट भन्दा ठगी हो । अब यो ठगी बन्द हुनेछ । अब अर्को कुनै योजना पक्कै आउनेछ । तर, अब आउने योजना चाहिँ दर्शकलाइर्ए ठग्ने नहोस् ।