चलचित्र ‘यो मन त मेरो नेपाली हो’को खैजडी गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो गीत ‘हेर लौ नेपाल आमाको’ सार्वजनिक भएको छ ।
आउँदो असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको खैजडीको लयमा आधारित यो गीतले नेपालको इतिहासदेखि वर्तमानसम्मको कथा प्रस्तुत गर्दछ ।
अनिश अधिकारीको स्वर र शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजबंशी र अनिश अधिकारीलाई फिचर गरिएको छ ।
सार्वजनिक गीतको कोरियोग्राफी प्रमोद भण्डारीले गरेका छन् । यसअघि सार्वजनिक भएको ‘तिम्रो आँखै रसिलो’ गीत दर्शक तथा श्रोताले निकै मन पराएका थिए ।
‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा र देवराज राजबंशी लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
ईश्वर इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रलाई मित्र प्रधानले प्रस्तुत गरेका छन् भने निर्माण ज्ञानबहादुर प्रधान (रोशन) ले गरेका हुन् ।
अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको चलचित्रले विदेशमा रहेका नेपालीहरूको मुद्धा उठान गर्ने प्रयास गरेको छ ।
चलचित्रले नेपाली भाषा, साहित्य, कला, इतिहास र नेपाली पहिचानको विषयवस्तुलाई केन्द्रमा राखेको छ ।
शिवम् अधिकारीको लेखनमा बनेको चलचित्रमा दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफ्एक्स र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
याे चलचित्रलाई नेपालीमा आरआर फिल्म्सले वितरण गर्नेछ ।