वैशाखबाट रियल टाइम बक्सअफिस, बोर्डले अनलाइन सेवा दिँदै

काठमाडौं । चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस प्रणाली यही वैशाखबाट सुरु हुने बताएको छ ।
पटक–पटक स्थगित हुँदै आएको रियल टाइम बक्सअफिस प्रणाली अब कार्यान्वयनको अन्तिम तयारीमा पुगेको बोर्डले बताएको छ ।
रियल टाइम बक्सअफिस प्रणाली लागु भएपछि टिकट बिक्री, दर्शक तथ्यांक र आम्दानीसम्बन्धी यथार्थपरक डाटा उपलब्ध हुने बोर्डले जनाएको छ ।
“रियल टाइम बक्सअफिस प्रणाली लागु भएपछि पारदर्शिता र व्यवसायिक विश्वसनीयता बढाउनेछ,” बोर्डले भन्यो, “यसको अनलाइन निर्माण प्रक्रिया सम्पन्न गरेर वैशाख महिनाभित्र उद्घाटन गर्ने तयारी छ ।”
बोर्डले चलचित्र स्टुडियो निर्माण प्रक्रिया सुरु भइसकेको जनाएको छ । ‘राष्ट्रिय चलचित्र स्टुडियो’ निर्माणको प्रक्रिया बनेपामा यसै महिनाभित्रै शिलान्यास गर्ने तयारी गरिएको बोर्डले जनाएको छ । यो स्टुडियो निर्माणले फिल्म निर्माणमा आवश्यक प्रविधि, सेट र पोस्टप्रोडक्सन पूर्वाधारको अभावको समाधानतर्फ पहिलो ठोस कदम हुने बोर्डको विश्वास छ ।
बोर्डले अनलाइन सर्भिस निर्माण पूरा भएको जनाएको छ । वैशाखमै अनलाइन सर्भिसको उद्घाटन गर्ने बोर्डको तयारी छ ।
“बोर्डले गर्ने सम्पूर्ण कामलाई अनलाइनबाट नै घरै बसेर गर्न मिल्ने गरी अनलाइन सर्भिस तयारी गरेको छ,” बोर्डले भनेको छ, “यसबाट सेवाग्राहीले होम सर्भिस सेवा पाउने गरी चलचित्र विकास बोर्डले वेवसाइटको निर्माण प्रक्रिया पूरा गरेको छ । यो सेवा पनि वैशाखभित्र उद्घाटन गर्ने तयारी छ ।”
एकै साथ धेरै काम गरिरहेको बोर्डको भनाइ छ ।