नयाँ पुस्तालाई अग्रजको सुझाव– पढेर, सिकेर आएको छ, काममा भेरिएसन चाहिँ चाहियो

काठमाडौं । नेपाली चलचित्र भन्नासाथ जोकोहीले सम्झने सिनेमा हो, ‘आमा’ । वि.सं. २०२१ साल असोजमा रिलिज भएको यो सिनेमासँगै नेपालमा सिनेमाको इतिहास सुरु भएको पाइन्छ ।
भलै नेपाल बाहिर छायांकन भएको र नेपाली भाषाको पहिलो चलचित्र भने ‘सत्य हरिषचन्द्र’ हो । जसमा निर्देशकदेखि कलाकार र प्राविधिकसम्म विदेशी थिए । भाषा भने नेपाली थियो । त्यसैले ‘सत्य हरिषचन्द्र’लाई पहिलो नेपाली चलचित्र मान्ने अथवा ‘आमा’लाई भन्नेमा आजपर्यन्त बहस भइरहेको छ ।
नेपाली सिनेमावृत्तमा आमा जस्तै नछुट्ने र नबिर्सने अर्को नाम हो, वसुन्धरा भुषाल । पहिलो सिनेमा ‘आमा’बाट अभिनय करियर सुरु गरेकी वसुन्धराले करियरको झण्डै ६१ वर्षमा पनि अभिनयको सक्रियतालाई अस्ताउन दिएकी छैनन् ।
नेपाली चलचित्रको इतिहासको उमेरभन्दा अझ बढी उमेरकी वसुन्धराको सक्रियता हेर्दा उनको सक्रियता जवानै जस्तो देखिन्छ ।
वसुन्धरा नेपाली सिनेमा वृत्तमा भाग्यमानी अभिनेत्रीमा पर्छिन्, जसले हिरासिंह खत्रीदेखि पछिल्लो पुस्ताको दिनेश राउतसम्मका निर्देशकसँग सहकार्य गर्न पाइन् ।
“आमादेखि महाभोजसम्म आइपुग्दा कामको हिसाबले मलाई केही फरक लागेन । अहिलेको पुस्ताले आमा, हजुरआमा भन्दै सम्मान गर्छन् । एउटा कलाकारका लागि त्यो भन्दा ठूलो कुरा के होला र ?”, वसुन्धरा भन्छिन् ।
वसुन्धराको अनुभवमा अहिलेको पुस्ता प्रतिभावान छ । “अग्रजप्रति अनुजहरूको सद्भाव राम्रो छ । उनीहरू मेहनती छन् । डिजिटल प्रविधि भएपछि उनीहरुबाट धेरै कुरा सिक्न पाइएको छ,” उनी भन्छिन्, “मैले दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल पुस्तासँग पहिलोपटक काम गरेँ । उनीहरू कामको हिसाबले सजिला रहेछन् ।” नयाँपुस्ताप्रति आफ्नो केही गुनासो नभएको उनी बताउँछिन् ।
नीर शाह नेपाली सिनेमाका भीष्म पितामह हुन् । नीर नयाँ पुस्तालाई ‘गज्जब’ र ‘सजिलो’को संज्ञा दिन्छन् । “नयाँ पुस्ता पढेर आएका छन् । उनीहरू प्राविधिक रूपमा पनि अब्बल छन् । काम गर्न हाम्रो पुस्तालाई केही अप्ठ्यारो छैन्,” नीर भन्छन् ।
नीर नयाँ पुस्ताको कामलाई प्रशंसा गर्दै सुझाव दिन्छन् । “नयाँ पुस्तामा भेरिएसन देखिनँ । सबैमा एउटै किसिमको कामको शैली देखियो । काममा भेरिएसन आयो भने मात्र राम्रो सिनेमा बनाउन सबल सकिन्छ”, उनी भन्छन् ।
अभिनेता हरिहर शर्मा थिएटर हुँदै सिनेमामा आएका अभिनेता हुन् । उनको नाम लिँदा धेरैले चलचित्र ‘वासुदेव’ सम्झन्छन् । हरिहर पनि नयाँपुस्तासँग गर्न पाउँदा खुसी छन् ।
उनी नयाँ र पुराना पुस्तामा खासै भेद देख्दैनन् । प्रविधिको हिसाबले नयाँ पुस्ताको ल्याकत पुरानोको भन्दा उच्च रहेको बताउँछन् ।
“पहिला प्राविधिक सुविधा कम हुँदा शारीरिक अभ्यास बढी हुन्थ्यो । तर अहिले त्यो अवस्था देखिँदैन”, हरिहर भन्छन्, “पहिला सिनेमामा फाइटको दृश्य खिच्दा निकै समय लाग्थ्यो । अहिले मलाई लाग्छ त्यति धेरै समय अथवा दिन लाग्दैन ।”
आफूले विगतजस्तै वर्तमानमा पनि कलाकार, निर्देशक, निर्माता, प्राविधिकबाट उत्तिकै आदर पाइरहेको हरिहरको भनाइ छ ।
सन् १९८८ मा तीर्थ थापा निर्देशित सिनेमा ‘मायाको बन्धन’बाट नेपाली सिनेमामा अभिनयको सुरुवात गरेका अभिनेता सरोज खनाल पछिल्लो नयाँ पुस्ताका दर्जनौँ सिनेमामा काम गरिसकेका छन् । उनको अनुभवमा अहिलेको पुस्ताले सुटिङ जानुअघि विभिन्न तयारी गर्छन् ।
“पहिलाका सिनेमाहरुमा वर्कसपको चलन थिएन । हामी स्क्रिप्ट तयार भएपछि तुरुन्तै फ्लोरमा जान्थ्यौँ । तर अहिले त्यो अवस्था छैन । अहिलेको मेहनती पुस्ताले सबै तयारी पूरा गरेर फ्लोरमा जान्छन्”, उनी भन्छन् ।
सरोजको बुझाईमा प्रकाश थापा, तुलसी घिमिरे भारतको मुम्बईबाट सिकेर आएकाले पनि फ्लोरमा त्यताको केही छनक आउँथ्यो ।
अहिलेको अधिकांश पुस्ता नेपालमै अध्ययन गर्ने भएकाले पनि नेपाली मौलिकतालाई सिनेमामा समेट्ने गरेको सरोज बताउँछन् ।
प्रविधिले नयाँपुस्तालाई धेरै सहज बनाएको सरोजको अनुभव छ । “पहिलाका सिनेमा रिलमा खिचिन्थ्यो । धेरै पटक टेक लिन निर्देशक निर्माता डराउँथे । किनकी पैसा पनि बढी खर्च हुन्थ्यो,” सरोज भन्छन्, “तर, अहिले डिजिटल प्रविधि आएपछि बढी टेक लिन थालियो । प्राविधिकका लागि यो खुसीको कुरा भए पनि कहिलेकाँही कलाकारको हकमा भने तनाव पनि हुँदोरहेछ ।”