‘जार’को अफर आउँदा सरप्राइज भएँ- सौगात मल्ल

काठमाडौं । अभिनेता सौगात मल्ललाई दुई दशक अघि नै खेल्न मन लागेको चलचित्र हो, जार । जब उनले साहित्यकार इन्द्र बहादुर राईको कथा ‘जार’ पढे, त्यही बेला नै उनलाई यसमा काम गर्ने रहर थियो ।
दुई दशक पछि आफ्नो सपना पूरा भएको सौगातले बताए । “जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो । त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ,” सौगात भन्छन्, “त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो ।”
मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि ‘जार’मा आफू खेल्न तयार रहेको उनले बताए । यद्यपि, मुख्य रोलका लागि नै अफर आएपछि झन धेरै खुसी भएको उनले बताए ।
कथा पढेपछि तीन महिनासम्म ‘जार’कै पात्रमा बसेको उनी सुनाउँछन् । “मैले जब यो कथा पढेँ । मलाई यो कथाले यसरी तान्यो म त्यसभित्रै डुबेँछु,” सौगात भन्छन्, “तीन महिनासम्म त जारबारे कसैले कुरा गरे मैले त यो खेलिसकेँ त जस्तो लाग्थ्यो । आफूलाई काम गर्न मन लागेको कथामा नाटक वा सिनेमा बनाउँ वा काम गरौँ भन्ने रहर भयो भने सोच्दा सोच्दै यो त मैले गरिसकेँ त जस्तो हुनेरहेछ ।”
कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको सौगात बताउँछन् । आफूले सपना देखेको सिनेमामा काम पनि त्यसैगरी गरेको उनले बताए ।
इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए । “कुन भनेर चाहिँ भन्दिनँ किन भने नभएससम्म हुँदैन, त्यसैले नभन्नु भन्छन्,” उनले भने, “त्यसैले अहिले यो भनेर भन्दिनँ । तर कुनै बेला काम भयो भने भन्नेछु ।”
चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।