गतवर्ष रिलिज भएका आर्टहाउस मुभी अंक गणितमा कुन कति सफल ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा कमर्सियल सिनेमा र आर्ट हाउस सिनेमा भनेर बहस भइरहन्छ । आर्ट हाउस सिनेमाभन्दा कमर्सियल सिनेमा कयौं गुणा धेरै बन्छन् ।

आर्ट हाउस सिनेमामा कमर्सियल सिनेमाभन्दा धेरै जोखिम रहने भएकाले यस्ता सिनेमा कम बन्ने गरेका छन् ।

तर, नेपाली सिनेमालाई विदेशी बजारमा पुर्याउन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुर्याउन भने आर्ट हाउस मुभी नै चाहिने मेकरहरूले बताउँदै आएका छन् ।

तर, यस्ता चलचित्रका दर्शक कम हुने गरेको भन्दै नेपालमा भने निकै सानो संख्यामा यस्ता चलचित्र बन्छन् । नवीन सुब्बा, मीन भाम, दीपक रौनियारलगायत सीमित निर्देशकले मात्रै यस्ता चलचित्र बनाउँदै आएका छन् ।

गत वर्ष पनि यी तीन निर्देशकका मात्रै आर्ट हाउस सिनेमा रिलिज भए । नवीन सुब्बाको ‘गाउँ आएको बाटो’, मीन भामको ‘साम्बाला’ र दीपक रौनियारको ‘राजागंज’ प्रदर्शन भएका थिए ।

यी तीनमध्ये नवीन सुब्बाको चलचित्र ‘गाउँ आएको बाटो’ अन्य दुईभन्दा केही कमर्सियल थियो । औसत समीक्षा पाएको यो चलचित्रले अरुभन्दा बक्सअफिसमा सफल पनि देखियो ।

‘गाउँ आएको बाटो’ले ४ करोड १९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको मुख्य भूमिकामा दयाहाङ राई र पशुपति राई थिए ।

त्यसपछि रिलिज भएको मीन भामको चलचित्र ‘साम्बाला’ले पनि औसत समीक्षा बटुलेको थियो । तर, ‘गाउँ आएको बाटो’को जति भने यसले आलोचना सहनु परेको थिएन ।

मीन भामको ‘साम्बाला’ले २ करोड १२ लाख ग्रसकलेक्सन गरेको थियो । यो चलचित्रमा थिन्ले लाह्मो, कर्मालगायतका कलाकार मुख्य भूमिकामा थिए ।

त्यसपछि रिलिज भएको थियो दीपक रौनियारको ‘राजागंज’ । समीक्षात्मक रूपमा सबैभन्दा कमजोर ‘राजागंज’ नै रह्यो । राम्रो समीक्षा प्राप्त गर्न नसकेको यो चलचित्रले बक्सअफिसमा पनि राम्रो उपस्थिति देखाउन सकेन । यो सिनेमाले जम्मा १६ लाख २१ हजार मात्रै बक्सअफिसमा कलेक्सन गरेको थियो ।

‘राजागंज’मा आशा मगराती, दयाहाङ राई, विजय बराललगायत कलाकारको अभिनय रहेको थियो ।

समीक्षा र बक्सअफिसमा कमजोर भए पनि यी तीनवटै चलचित्रको हाइप भने गजब राम्रो थियो । वर्ड अफ माउथ राम्रो नभएका कारण नै सोचेजस्तो चलेका थिएनन् ।

बक्सअफिसमा कमजोर देखिने भएकै कारण आर्ट हाउस मुभीमा निर्माताहरू लगानी गर्न डराउने गरेका छन् । तर, कमर्सियल र कम जोखिम हुने भनिएका अधिकांश सिनेमाको बक्सअफिस यी चलचित्रको भन्दा कमजोर हुने गरेको यथार्थ भने सबैले स्वीकार गर्नैपर्छ ।