‘माइतीघर’को सेटबाट ‘माग्ने बुढा’को नयाँ गेटअप रिभिल

काठमाडौँ । सोसल ड्रामा जनरामा निर्माण भइरहेको चलचित्र ‘माइतीघर’को छायांकन सेटबाट यस मुख्य पात्रको नयाँ लुक्स सार्वजनिक भएको छ ।
अहिले छायांकन भइरहेकाे चलचित्रको सेटबाट चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’को नयाँ गेटअप सार्वजनिक भएको हो ।
सार्वजनिक तस्बिरमा उनी खाटमा बसेर मोबाइल हेरिरहेको देखिन्छन् । झट्ट हेर्दा उनको गेटअप गाउँको मुखियाजस्तै देखिन्छ, तर निर्माण पक्षले उनको भूमिकाबारे आधिकारिक जानकारी भने दिएको छैन ।
मिलन तामाङको निर्देशनमा तयार हुँदै गरेको यो चलचित्र दशैंको फूलपातीका अवसरमा प्रदर्शन हुने बताएको छ ।
निर्माणपक्षका अनुसार ‘माइतीघर’ले तामाङ समुदायको संस्कृति र जीवनशैलीलाई कथाको मूल धार बनाएको छ । चलचित्रको नाम ‘माइतीघर’ राखे पनि यो पुरानो चलचित्र माइतीघरको सिक्वेल भने नहुने बताएको छ ।
हाल चलचित्रको छायांकन म्याग्दीको ताकम गाउँमा जारी छ । कुल ४० दिनको छायांकन तालिकाअनुसार २० दिन ताकममा र बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा खिचिनेछ ।
चलचित्रमा केदार घिमिरेसँगै धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा लगायत कलाकारको अभिनय रहनेछ ।
सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको हो । चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको संयुक्त लगानी रहेको छ ।