‘सुम्निमा’ मा उपासना, हिरो खोज्दै चाम्स

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘सुम्निमा’ मा अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । प्रेमकथामा आधारित यो चलचित्र नेपाली र अंग्रेजी दुबै भाषामा निर्माण हुने भएको छ ।

चलचित्रमा उपासना सिंह ठकुरीको जोडीको रुपमा अभिनय गर्नका लागि हाल युकेमा बसोबास गर्ने २० देखि २६ वर्ष उमेर समूहका युवाहरूलाई अडिसनका लागि आह्वान गरिएको छ ।

निर्देशक चाम्सले फिल्म युनिभर्सल कथामा आधारित हुने र यसले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्ने बताए । “कथावस्तु विश्वव्यापी भएकाले चलचित्रले विदेशी दर्शकलाई पनि लक्षित गर्छ,” उनले भने ।

‘सुम्निमा’ को छायांकन नेपाल र बेलायतमा जुलाईदेखि सुरु हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने यो चलचित्र चाम्सको ११ औं निर्देशन हुनेछ । चलचित्रमा कथा तथा पटकथा राजीव थापाले लेखेका छन् ।

यसअघि चाम्सको निर्देशनमा बनेको बायोपिक ‘अञ्जिला’ ले ५१ दिनसम्म सफल प्रदर्शन गरी सकारात्मक प्रतिक्रिया बटुलेको थियो । उक्त सफलताले चाम्सको नयाँ प्रोजेक्टप्रति थप अपेक्षा र चुनौती सिर्जना गरेको छ ।

“कथा बलियो छ, टिम पनि राम्रो छ, त्यसैले ‘सुम्निमा’ उत्कृष्ट सिनेमा बन्नेमा म आशावादी छु,” चाम्सले बताए । अन्य प्राविधिक टिमको जानकारी भने चाँडै सार्वजनिक गरिने जनाइएको छ ।