प्रिमियरमा चलचित्र ‘ऊनको स्वीटर’ लाई तारिफ नै तारिफ

काठमाडौं । शुक्रबारदेखि देश–विदेशका हलहरूमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर शो सम्पन्न भएको छ ।
रिलिजको पूर्व सन्ध्यामा बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको एक हजारभन्दा बढी अतिथि, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नवीन चौहानको निर्देशनमा बनेको चलचित्रको उक्त प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपाल अध्यक्ष राजेन्द्र लिङ्देल, सांसदहरू शोबिता गौतम, विनीता कठायत, असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत विशिष्ट व्यक्तित्वहरू सहभागी थिए । यस्तै चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई तथा निर्देशक नवीन चौहान सहित सम्पूर्ण टिम उपस्थित रहे।
अन्तरजातीय प्रेमकथा देखाउन खोजेको ‘ऊनको स्वीटर’ हेरेपछि अतिथिहरूले चलचित्रप्रति अत्यन्त सकारात्मक प्रतिक्रिया जनाएका छन् । उपसभामुख राना मगरले प्रेमको गहिरो भाव अभिव्यक्त गरेको भन्दै चलचित्रको प्रशंसा गरिन् ।
अभिनेता दयाहाङ राईले यसलाई ‘गजबको कृति’ भनी उल्लेख गर्दै अभिनय, कथा र निर्देशन सबै पक्ष सशक्त रहेको बताए । अभिनेत्री केकी अधिकारीले निर्देशक नवीन चौहानको निर्देशनलाई विशेष सराहना गरिन् भने सांसद शोबिता गौतमले चलचित्रले समाजका यथार्थ प्रसङ्गहरू सजीव रूपमा प्रस्तुत गरेको बताइन् ।

कलाकारहरू पनि दर्शकको प्रतिक्रियाबाट खुसी देखिए । विपिन कार्कीले दर्शकको मायाले मन भारी भएको बताए भने मिरुना मगरले चलचित्रले ‘न्यानो माया’ दिन सफल भएको बताइन् । नव-कलाकार एलेक्स पारसले पहिलो चलचित्रबाटै यस्तो प्रतिक्रिया पाउँदा आफू उत्साहित भएको बताए। परीक्षा लिम्बुले त आफ्नो भूमिका यति गहिरो बनेको बताइन् कि आफू पात्रमै समाहित भएको महसुस भएको सुनाइन्।
गीत निर्देशक तथा गायक सुजन चापागाईँले प्रिमियरमा उपस्थित सबैलाई धन्यवाद दिँदै चलचित्र अब दर्शकको जिम्मामा रहेको उल्लेख गरे। निर्देशक नवीन चौहानले भने, “यी आत्मीय प्रतिक्रियाहरूले मलाई गहिरो स्पर्श गरेका छन्, जुन शब्दमा व्यक्त गर्न सकिन्न।”
देशभर ३०० भन्दा बढी शो पाएका ‘ऊनको स्वीटर’ को अग्रिम टिकट बिक्री सुरु भइसकेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । यसलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकामा २१ र मोफसलमा २६ गरी कुल ४७ शो दिएको छ ।
यो चलचित्रलाईई पहिलो दिनका लागि देशभरका हलमा एक सय हाराहारी शो प्राप्त छ । केही हलमा अझै बुकिङ खुल्न बाँकी रहेकाले शोमा थपघट हुनसक्छ ।
सामाजिक सञ्जालमा चर्चित भइसकेका “फूल”, “मखमली” र “काफ्ले” जस्ता गीतले चलचित्रप्रति उत्सुकता थप बढाएका छन् ।
आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
पाँचथर र फालेलुङ क्षेत्रको सुन्दर लोकेशनमा छायाङ्कन गरिएको चलचित्रले नेपाली समाज र प्रेम कथाको विविधता समेट्ने प्रयास गरेको निर्देशकले बताएका छन् ।
यो चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ, जसले सबै उमेर समूहका दर्शकहरू हेर्न सक्ने बनाएको छ ।

