छोरा सुरजको निर्देशनमा नयाँ चलचित्र बनाउने तयारीमा शर्मिला, के भन्छन् प्रदीप ?

काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी सक्रिय निर्मात्री शर्मिला पाण्डे नयाँ चलचित्र निर्माणको तयारीमा जुटेकी छन् ।
पछिल्लो पटक २०८० सालमा प्रदर्शनमा आएको चलचित्र ‘परस्त्री’ ले व्यापारिक सफलता नपाएपछि केही समय विश्राम लिएकी शर्मिला अब २ वर्षपछि पुनः सिनेमा निर्माणमा फर्किन लागेकी हुन् ।
यो नयाँ प्रोजेक्टको निर्देशन शर्मिलाका छोरा सुरज पाण्डेले गर्नेछन् । उनले यसअघि ‘परस्त्री’ निर्देशन गरेका थिए, जसमा उनको निर्देशनलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।
हाल अमेरिकामा रहेका सुरजले सोही स्थानमा चलचित्र छायांकन गर्ने तयारी गरिरहेका छन् । जसकालागि अहिले कलाकार चयनको प्रक्रिया चलिरहेको छ ।
यस नयाँ चलचित्रको मुख्य भूमिकाका लागि अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । यसै सन्दर्भमा शर्मिला र प्रदीपबीच हालै भेटघाट भएको थियो ।
“प्रदीपजीले ६ महिनापछि समय दिन सक्ने बताउनुभएको छ । अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट सुन्ने कुरासमेत भएको छ। हामी फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गर्ने योजनामा छौं,” भेटपछि शर्मिलाले भनिन् ।
प्रदीपसँग सम्झौता प्रक्रिया बाँकी रहेको भए पनि सकारात्मक संकेत देखिएको छ । यस विषयमा प्रदीपले आर्टखबरसँग संक्षिप्त कुराकानी गर्दै भने, “भेट भएको हो, साइन गरेको छैन । कुराकानी कै चरणमा छौँ । स्टोरी सुन्न बाँकी छ, स्टोरी सुनेपछि भन्छु भनेको छु । म एउटा सिनेमाका लागि अमेरिका जानुपर्ने छ त्यही समयमा कथा सुन्ने तयारीमा छु ।”
यो चलचित्रमा दुईजना प्रमुख अभिनेता रहने र तीमध्ये एकको भूमिका ‘परस्त्री’का गौरव विष्टले निभाउने पक्का भइसकेको निर्मात्री पाण्डेले जानकारी दिइन् । प्रदीप र गौरव यसअघि चलचित्र ‘पिताम्बर’ मा सँगै देखिएका थिए ।
चलचित्रको नाम अझै तय नभए पनि यसको छायांकन आगामी असोजपछि सुरु गर्ने तयारी भइरहेको शर्मिलाको भनाइ छ ।