के हो १६ वर्षको प्रयासपछि लागु हुन लागेको रियल टाइम बक्सअफिस सिस्टम ?

काठमाडौं । रियल टाइम बक्सअफिस लागु गर्ने प्रयास भएको १६ वर्षपछि नेपालमा रियल टाइम बक्सअफिस सिस्टम लागु हुने भएको छ ।

रियल टाइम बक्सअफिस प्रणाली विसं. २०६६ सालदेखि लागु गर्ने भनिए पनि हालसम्म यो लागु हुन सकेको थिएन ।

चलचित्र विकास बोर्डले अबको केही दिनमै रियल टाइम बक्सअफिस सिस्टम लागु गर्ने जनाएको छ । बोर्डका अनुसार, रियल टाइम बक्सअफिस सिस्टम जडानको सम्पूर्ण काम सकिइसकेको छ ।

जडानको काम सकिएपछि बोर्डले अहिले ट्रायल गरिरहेको छ । प्रधानमन्त्रीले केही दिनमा रियल टाइम बक्सअफिस सिस्टम उद्घाटन गर्नेछन् । कम्तीमा जेठ १५ गतेभित्र यो प्रणाली लागु हुनेछ ।

रियल टाइम बक्सफिस सिस्टम लागु भएपछि प्रत्येक सिनेमाको प्रत्येक शोको टिकट काटेको तथ्यांक तत्काल सरकारको सर्भरमा आउनेछ । मन्त्रालयमा आएको केही सेकेन्डमै उक्त तथ्यांक चलचित्र विकास बोर्डको बक्सअफिस सिस्टममा पुग्छ ।

रियल टाइम बक्सफिस सिस्टम लागु भएपछि नेपाली चलचित्रको बजार पारदर्शी हुनेछ ।

रियल टाइम बक्सअफिस सिस्टम जडान भएपछि उक्त तथ्यांक सम्बन्धित चलचित्रका एक निर्माता र एकजना वितरकले हेर्न पाउनेछन् । अन्यलाई भने यसको ‘एक्सेस’ हुने छैन ।

सञ्चारमाध्यमले भने हलबाट उत्रिएपछि मात्र सिनेमाको बक्सअफिस तथ्यांक पाउनेछन् ।

देशभरका सबै हल रियल टाइम बक्सअफिस सिस्टममा समेटिनेछन् । रियल टाइम बक्सअफिस सिस्टममा नआउने हलले सिनेमा प्रदर्शन गर्न पाउने छैनन् । यदि कोही वितरकले रियल टाइम बक्सफिस सिस्टममा नआउने हललाई चलचित्र प्रदर्शन गर्न दिएको खण्डमा त्यस्ता वितरकको लाइसेन्स नै खारेज गर्ने बोर्डले जनाएको छ ।

चलचित्र ‘१२ गाउँ’ र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज हुँदा नवीकरण नै नभएका हलले समेत यी सिनेमा प्रदर्शन गरेका थिए । निर्माताले नै त्यस्ता हलको नाम सार्वजनिक गरेका थिए ।