नेपालमा एकै दिन सबैभन्दा धेरै कमाउने चलचित्र कुन हो ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगकै एक ऐतिहासिक सिनेमा हो । जसका नाममा थुप्रै रेकर्ड छन् ।
व्यापारिक रुपमा सफल हुँदा यसले थुप्रै रेकर्ड बनाएको छ । त्यसमध्येको एक महत्वपूर्ण रेकर्ड हो, एकै दिनमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड ।
एकै दिन यो सिनेमाले तीन करोड ८९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । २०८१ कात्तिक २४ गते शनिबारको दिन ‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन ३ करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो । त्यसको एक दिन अगाडि २ करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले ‘कबड्डी–४’को रेकर्ड तोडेको थियो । ‘कबड्डी–४’को नाममा एकैदिनमा पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो । यसपछि ‘भष्मे डन’ले पहिलो दिन २ करोड २५ लाख कलेक्सन गरेको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शन भएको १० दिनमा १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको थियो ।
यो सिनेमाले नेपालमा मात्रै ४६ करोड ८० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । नेपाल बाहिर समेत गरेर ७५ करोडभन्दा माथि कलेक्सन गरेको थियो ।
लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रले सर्वाधिक धेरै शो पाउने चलचित्रको पनि रेकर्ड बनाएको छ । एकै दिन यो चलचित्रले ९८ हलमा ४६५ भन्दा धेरै शो पाएको थियो ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका थियो ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका थिए । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी थिए ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका थिए ।
‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा उठाएको थियो । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष यो सिनेमाको मुख्य कथा थियो ।