अन्ततः बन्ने भयो इनडोर स्टुडियो, प्रधानमन्त्रीले मंगलबार शीलान्यास गर्दै, कति छ बजेट ?

काठमाडौं । सरकारले बनेपामा निर्माण घोषणा गरेको इनडोर स्टुडियोको मंगलबार शीलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बनेपा पुगेर शीलान्यास गर्न लागेका हुन् ।

चलचित्र विकास बोर्डले बनेपा नगरपालिका १० र १३ नम्बर वडामा निर्माण गर्न लागिएको इनडोर स्टुडियोको यसअघि नै ठेक्का स्वीकृत भइसकेको छ ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बोर्डले ०८१ माघ २७ गते आर्थिक वर्ष ०८१/८२ का लागि बोलपत्र आह्वान गरेको थियो ।

स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले पाएको छ ।

स्टुडियो ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँ ४८ पैसामा ठेक्का लागेको छ ।

लामो समयपछि स्टुडियो बन्न लागेको हो । लामो समयदेखि हरेक वर्ष बजेटमा इनडोर स्टुडियोका लागि बजेट छुट्टिने गरे पनि बन्न सकेको थिएन । यसपटक भने शीलान्यास हुन लागेको हो ।

यदि, निर्माण सुरु भएपछि बीचमै अलपत्र परेन भने अब भने इनडोर स्टुडियो बन्नेछ । इनडोर स्टुडियो निर्माण भएपछि सिनेमा छायांकनका लागि सहज हुनेछ ।