सिनेमा छायांकन इनडोर स्टुडियो ‘स्यालको कथा’ नबनोस्

१६ वर्षको प्रतिक्षापछि सिनेमा छायांकनका लागि इनडोर स्टुडियो निर्माण कार्य सुरु भएको घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्टुडियो निर्माण सुरु भएको उद्घोष गरे ।

चलचित्र विकास बोर्डका अनुसार ४२ रोपनी क्षेत्रफलमा इनडोर स्टुडियो बन्नेछ । बोर्डमा जाने हरेक अध्यक्षले आफ्नो एजेण्डा नै स्टुडियो निर्माणलाई बनाउँथे ।

जग्गा पनि फाइनल भइसकेको थियो । नीति तथा कार्यक्रम र बजेट पनि यो विषय अटाउँथ्यो । तर, स्टुडियो शीलान्यास भएन ।

अन्ततः दिनेश डिसी बोर्डको नेतृत्वमा पुगेपछि स्टुडियो निर्माणको काम सुरु भएको उद्घोष भयो । तयारी शीलान्यासकै भए पनि प्रधानमम्नीको समय अभावले बालुवाटरबाटै उनले निर्माण सुरु भएको उद्घोष गरे । लामो समयको प्रतीक्षापछि सपना पूरा हुने चरणतर्फ अघि बढेको छ ।

स्यालको कथाजस्तै बनेको स्टुडियो निर्माण सुरु भएपछि पक्कै पनि यसले निर्माणको गति लिन्छ भन्ने धेरैको विश्वास छ ।

स्टुडियो निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ । बोर्डले २०८१ माघ २७ गते आर्थिक वर्ष ०८१/८२ का लागि बोलपत्र आह्वान गरेर बोलकबोलका आधारमा स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीलाई दिएको छ ।

स्टुडियो ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँ बजेट छुट्याइएको छ । प्रक्रिया अगाडि बढ्यो । काम सुरु हुनु आफैँमा सकारात्मक पक्ष हो ।

तर, विचारणीय पक्ष र चनाखो हुनुपर्ने कुरा के हो भने ठेक्का लागेका र काम सुरु भएका सबै विकासे योजना पूरा हुँदैनन् । भए पनि समयमा हुँदैनन् । एक/डेढ वर्षको समयावधी तोकेर ठेक्का लागेका कयौं आयोजना बीचमै अलपत्र परेका छन् ।

विभिन्न बाहानाबाजीमा पटकपटक निर्माण अवधी थपिएको समाचार नौला होइनन् । आयोजना अलपत्र पारेर ठेकेदार कम्पनी भागेका खबर पनि नौलो होइन ।

अरुको किन उदाहरण दिनु, फिल्म सिटी नै हेरे पुग्छ । फिल्म सिटी बन्ने भनेर केही बजेट समेत खर्च भइसकेको दोलखाको डाङडुङे डाँडामा बन्ने भनेको फिल्म सिटी अलपत्र परेको ताजै उदाहरण छ ।

तर, फिल्म सिटी अरबौंको आयोजना भएकाले त्यो बनाउन सहज थिएन । इनडोर स्टुडियो न्यून बजेट भएकाले बनाउन पक्कै सहज छ ।

यसका लागि बोर्ड, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयलगायत सम्बन्धित सबै पक्ष गम्भीर भएको खण्डमा भने यो स्टुडियो रोकिने छैन । स्यालको कथा हुने छैन ।

सुविधा सम्पन्न इनडोर स्टुडियो बन्यो भने चलचित्र छायांकनका लागि मेकरलाई सहज हुनेछ । कसको घर कहाँ पाइएला कि नपाइएला भनेर टाउको दुखाउनु पर्ने छैन । बगैैंचा र स्पेश भएको जग्गा खोज्न तनाव लिनु पर्ने छैन । त्यसैले चलचित्रको विकासका लागि पनि यो स्टुडियो समयमै बन्न जरुरी छ ।