पहारी, उप्रेती र सुवेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान

काठमाडौं । अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुवेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पहारीलाई २०८० तथा उप्रेती र सुवेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो ।
चलचित्र पुरस्कारमा जनही २५ हजार र पत्रकारिता पुरस्कारमा १० हजार राशि समावेश छ ।
महनोज शम्शेर जवरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गरेकी हुन् ।
परिवर्तन नेपालको आयोजनमा सम्पन्न कार्यक्रममा ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको छ । समारोहमा १० हजार राशिको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।
अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ ।
संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तनचलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरियो ।