प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको चलचित्र ‘लालीबजार’ घोषणा, को हो निर्देशक ?

काठमाडौं । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले नयाँ चलचित्र ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितेको उक्त व्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो ।

चलचित्रका लेखक तथा निर्देशक यम थापा रहेका छन् । चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् । कार्यकारी निर्मातामा निर्देशक प्रदीप भट्टराई छन् ।

निर्माता बानियाँले षट्कोण आट्र्सले स्क्रिप्टकै खोजीको क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत भएको बताए ।

“हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ,” उनले भने, “सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रिप्टले हामीलाई आकर्षित गर्यो । उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो । हामीले नै निर्देशन गर्न आग्रह गर्यौं ।”

निर्माता बानियाँले ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गरेका छन् । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ । ‘लालीबजार’ का लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ । रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको संकेत गर्दछ ।

एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहित गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपस्टिक ठाडो अवस्थामा रहेको छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ ।

‘लालीबजार’का लागि कलाकार छनोट प्रक्रियामा रहेको निर्माता बानियाँले जानकारी दिएका छन् । चलचित्रको छायांकन दसैँपछि गरिनेछ । षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको ‘लालीबजार’ पाँचौं फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायत चलचित्रमा अन्य व्यानरसँग सहकार्य गरेको छ ।