सिनेमाको कथा एकातिर, गीत अर्कैतिर, फलत :  गीतको प्रभाव घट्दै

पबन भट्टराई

काठमाडौं । चलचित्र र संगीत पर्याय नै हुन् । कथा, कलाकार, अभिनय र प्राविधिकपछि संगीतका कुरा आए पनि सिनेमा प्रचारप्रसारको दरिलो अस्त्र नै सिनेमाको संगीत नै हो ।

दर्शकले सिनेमाको प्रमोसनका अन्य सामग्री (टिजर अथवा ट्रेलर) मन पराउन् वा नपराउन् राम्रो गीत छ भने उनीहरू सिनेमाका गीत गुनगुनाउँछन् । धेरै दर्शक त गीतकै कारण सिनेमा हेर्न हलसम्म पुग्छन् ।

सिनेमा रिलिज हुनुभन्दा झण्डै दुई महिना अघिदेखि नै सिनेमाको गीत सार्वजनिक गरिन्छ । तस्ता गीत राम्रा छन् भने दर्शकका प्रिय बन्छन्, नराम्रा भए नोटिस् नै हुँदैनन् ।

अहिले होइन पहिलेदेखि नै हलसम्म दर्शक तान्ने प्रमुख माध्यम गीत नै थियो । गीतको लोकप्रियताले नै सिनेमाको व्यापारिक अनुमान गरिन्थ्यो । अहिले पनि अवस्था उस्तै छ । सिनेमा दर्शकसामु कसरी नोटिस गराउने भनेर निर्माता र निर्देशकले गीतलाई नै मुख्य साधन बनाइरहेका हुन्छन् ।

त्यसैले सिनेमा जस्तो सुकै होस्, सिनेमाको कथाले गीत खोजोस् वा नखोजोस् निर्देशक निर्माताले गीत खोज्छन् । सिनेमामा गीत नराखे पनि ओएसटी भनेर मात्रै भए पनि गीत बनाउँछन् । चलचित्र रिलिजपूर्व सिनेमाको गीत भन्दै सार्वजनिक गर्छन् ।

तर, पहिलाजस्तो अहिले गीत राम्रो भएर मात्रै हुँदैन । राम्रो गीत भएर पनि चल्न कठिन छ । राम्रो गीतले पनि चल्नका लागि टिकटकको साहारा लिनुपर्छ ।

सिनेमाको गीत नोटिस हुन पनि प्रमुख माध्यम टिकटक नै हो । संगीतकारहरु अर्जुन पोखरेल, वसन्त सापकोटा र राजनराज शिवाकोटी कुनै समय नेपाली सिनेमाका ‘हट केक’ संगीतकारका रुपमा चिनिन्थे ।

पछिल्ला वर्षमा उनीहरुको सांगीतिक व्यस्तता कम भए पनि सुगम संगीत होस् वा पार्श्व संगीतका सिर्जनाहरू थोरबहुत दर्शकलाई दिइरहेका छन् । पछिल्लो समयमा गीतको चर्चा कम हुनुमा उनीहरु के भन्छन् ?

संगीतकार पोखरेल टिकटकका कारण पनि श्रोता र दर्शकमा गीत पूरा सुन्ने धैर्यता हराउँदै गएको बताउँछन् । “टिकटक आउनुअघि राम्रा गीत छन् भने सुपरहिट हुन्थे । तर, टिकटक सुरु भएपछि टिकटकमा गीतको एउटा लाइन मात्र हिट भयो, पूरा गीत हिट हुन पाएन,” उनी भन्छन्, “जसकारण दर्शकलाई कुन सिनेमाको गीत हो भनेर थाहा पाउन पनि गाह्रो भयो ।”

टिकटकमा गीत नचले समग्र गीत नै दर्शकमाझ नपुग्ने संगीतकार पोखरेलको टम्याई छ । “टिकटकमा गीत नचलेका सिनेमा पनि हिट भएका छन् । अहिले गीत हिट हुने वातावरण पनि छ,” उनी भन्छन्, “तर, निर्माता टिकटकतिर आकर्षित हुन थालेपछि गीतको मर्म नै मर्न थालेको छ ।” त्यसैले निर्माता पनि राम्रो र सिनेमा अनुसारको गीतभन्दा पनि टिकटकमा हिट हुने गीत खोज्न थालेको उनको अनुभव छ ।

अहिलेका दर्शक गीतभन्दा पनि कथा खोज्न थालेकाले गीतमा चासो कम भएको हुनसक्ने पोखरेलको बुझाई छ ।

अर्का संगीतकार सापकोटा पूर्व तयारीबिना नै सिनेमाका लागि गीत बनाउने प्रवृत्तिले पनि दर्शकमाझ गीतले राम्रो प्रभाव जमाउन नसकेको दाबी गर्छन् । अहिले सिनेका लागि गीत निर्माण पहिलेको जस्तो नरहेको सापकोटाको तर्क छ ।

“अहिलेका निर्मातामा गीत र संगीत भनेको केही होइन भन्ने प्रवृत्ति हाबी छ । उनीहरुकै प्राथमिकतामा संगीत कम परेपछि कसरी संगीतकार, गायक, गीतकारले राम्रो गीत दर्शकलाई दिन सक्छन् ?” सापकोटा प्रश्न गर्छन्,“पहिलाका सिनेमामा निर्देशक, पटकथा, संवाद लेखकसँग संगीतकार बसेर गीतसंगीतको बारेमा छलफल हुन्थ्यो । त्यही छलफलका आधारमा गीत तयार हुन्थ्यो । ती गीत दर्शकले मनपराउँथे । अहिले त सल्लाह गरेर कसले गीत बनाउँछन् र ?”

अहिले अधिकांश सिनेमाले प्रोमोसन शैलीको गीत मात्र बनाउने भएकाले सिनेमाका गीतप्रति दर्शकको रुची कम भएको संगीतकार सापकोटाको तर्क छ ।

“सिनेमाको गीत भनेर प्रचारप्रसार गर्छन् । सिनेमा हेर्न जाँदा त्यही गीत चाहिँ हुँदैन । यो त दर्शकलाई सरासर ढाँटेजस्तो भयो नि !”, उनी अगाडि भन्छन् ।

सिनेमाको कथा अनुसार गीत निर्माणको क्रम अत्यन्त कम रहेको र त्यही नै अहिलेको कमजोरी भएको सापकोटाको ठहर छ ।

“पहिला हामी सिनेमाको कथा सुनेर गीत तयार पाथ्र्यौं । गीत हिट भएपछि सिनेमा हेर्न जाँदा दर्शक त्यो कथामा आफूलाई बाँध्थे,” उनी भन्छन्, “अहिले त कलाकार गीतमा फिट होस् नहोस्, जबरजस्ती गीत मागेर सिनेमामा राखेको छ । सिनेमा हेर्दा कथा एकातिर, गति अर्कोतिर देखिन्छ ।”

निर्माताले संगीतकारलाई जबरजस्ती गीत माग्ने प्रवृत्तिले पनि सिनेमाका गीतप्रति दर्शकको चासो कम हुँदै गएको सापकोटा बुझाइ छ ।

संगीतकार शिवाकोटी गीत छनोटमा निर्माताको ध्यान नपुग्दा एर समस्या निम्तिएको बताउँछन् । हरेक गीत दर्शकलाई राम्रो लागे पनि निर्माताले सही गीत छनोट नगर्दा समस्या देखिएको उनको धारणा छ ।

“हाम्रोमा कसैले राम्रो गीत बजारमा ल्याए भने त्यही शैलीलाई पछ्याउने बानी छ । मेरो गीतहरु सुर्के थैली, पूर्व–पश्चिम रेल बजारमा हिट भएपछि त्यस्तै शैलीलाई पछ्याउने क्रम चल्यो । जसले गर्दा गीतमा फरकपन अथवा विविधता देखिएन”, राजनराज भन्छन् ।

राजनराज गीतलाई माग र आपूर्तिसँग तुलना गर्छन् । “बजारमा माग कम छ, तर हामी आपूर्ति बढी गर्छौं । जसले गर्दा पनि दर्शक गीत सुन्न लालयित देखिँदैनन् । दर्शकलाई सधैँभरी सम्झना दिलाइरहने गीत हामीले पछिल्लो समयमा दिन सकिरहेका छैनौं”, उनी भन्छन् ।

सिनेमाकर्मीले गीतको मर्म र भाव नबुझेर पनि समस्या निम्तिएको राजनराज आरोप छ । “सिनेमाकर्मीले गीतको फरकपन बुझ्न सकेनन् । गीतमा फरकपन ल्याउन वर्कआउट गर्नुपर्छ,” उनी भन्छन्, “त्यो वर्कआउटको अभाव देखिएको छ ।”

संगीतकार बाबुल गिरी पछिल्लो समय सिनेमा संगीतमा व्यस्त संगीतकारमा गनिन्छन् । उनी कम सिनेमा निर्माण हुँदा गीतको बजार राम्रो हुने गरेको बताउँछन् ।

“हलमा दर्शक तान्नका लागि सिनेमाका गीत बलियो माध्यम हुन् । सबै निर्माता राम्रो गीतको खोजीमा हुन्छन् ,” उनी भन्छन्, “ तर, कुन राम्रो भनेर छुट्याउन सक्ने हुनुपर्छ । सबैले राम्रो गीत मात्र खोज्ने भएकाले त्यस्ता गीत बनाउन समय पनि लाग्छ ।”

दर्शकको रुचि र सिनेमाको कथाअनुसार गीत भए त्यसले दर्शकको ध्यान खिच्ने उनको भनाइ छ ।