‘कमेडी दरबार इन अमेरिका’का लागि ‘कमेडी दरबार’ र आर्यन फिल्मसको सम्झौता

काठमाडौं । अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो ।

कम्पनीले शनिबार बिहान ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।

कार्यक्रमका लागि आर्यन फिल्मसका तर्फबाट सिइओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्तमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरेकी थिइन् ।

कार्यक्रम सम्झौताको हस्ताक्षरपछि बोल्दै आर्यन फिल्मसका सिईओ कटुवालले आफ्नो कम्पनीले फिल्म तथा म्यूजिक भिडियो निर्माणमा लामोसमयदेखि सक्रिय रहँदै आएको भए पनि अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक काम गर्न लागेको बताउँदै अमेरिकाका बढिभन्दा बढी नेपालीका माझमा पुग्ने लक्ष्य राखेको बताए ।

यसैगरी ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले आफ्नो कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रालाई लिएर उत्साहित रहेको बताइन् ।

“सेप्टम्बर अक्टोबरमा ‘कमेडी दरबार इन अमेरिका’ लिएर हामी अमेरिका आउँदैछौँ । हामी एकदमै उत्साहित भएर पर्खिरहेका छौँ,” उनले भनिन् ।

आर्यन फिल्मसका अध्यक्ष रमेश एमके पौडेलले हाँसो औषधीसमेत रहेको उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए । पौडेलले अमेरिकाका १० वटा राज्यका १६ स्थानमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्यान्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ ।

अमेरिकाको कार्यक्रमको व्यवस्थापनका अमेरिका बस्दै आएका चर्चित नेपाली व्यवसायी तथा समाजसेवी पासाङ लामा जोडिएका छन् ।

लामा सन् २०२० मा रिटेल व्यवसायीमा नम्बर एक अवार्ड पाउन सफल व्यवसायीसमेत हुन् । लामाका अमेरिकाका विभिन्न राज्यमा डेढ सय वढी ग्यास स्टेसन तथा रिटेल स्टोर संचालनमा छन् ।

कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रुपैयाँ खर्च हुने अनुमान पौडेलले गरेका छन् ।