‘महाभोज’को ट्रेलरमा छरपष्ट सहकारी ठगीको कथा

काठमाडौं । चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलरमा सहकारी ठगीको कथा छ ।
सहकारीको संस्थागत ठगीमा जकडिएका पीडितहरूको कथा ट्रेलरमा उठाइएको छ ।
ट्रेलरमा सिनेमाका मुख्य पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् ।
ट्रेलरमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि किन्न पैसा नहुँदा ज्यान गुमाउन पुगेको दृश्य, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ समेटिएको छ ।
सहकारी संस्थामा पहुँच राख्नेहरूले कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले प्रष्ट पारेको छ ।
चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । विकास सुवेदीले कथा तथा पटकथा लेखन रहेको चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।