‘आ बाट आमा’ निर्माण गर्दै निर्देशक पन्त

काठमाडौं । निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आबाट आमा’को निर्माण घोषणा गरेका छन् । उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् । साथै उनले प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तोकेका छन् ।
सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ । रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट हुनेछ । यो फिल्मको कलाकार को -को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन ।
फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो । केहि दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ ।
निर्देशक चन्द्रले यसअघि एक्सन जनराको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन् । उनको यो फिल्म डेब्यु निर्देशन थियो । यस बाहेक उनले भोजपुरी फिल्म पिहत पाँच दर्जनभन्दा बढि नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा बन्न थालेको ‘आबाट आमा’दोस्रो निर्देशकिय नेपाली फिल्म बन्न लागेको हो ।
निर्देशक पन्तले फिल्म ‘ह्रस्व दीर्घ’लाई एउटा उचाईमा पुर्याएका थिए । यस फिल्मले राम्रो कमाइ गर्नसफल भएको थियो । नेपालमा राम्रो व्यापार गरेको यो फिल्मलाई भारतको लोकप्रिय ओटीटी प्लेटफर्म ‘जी फाइब’ले समेत किनेको थियो ।
