राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९औं महाधिवेशन फागुनमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९औं महाधिवेशन फागुनमा हुने भएको छ । प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले फागुनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
फागुन १, २ र ३ गते महाधिवेशन गर्ने निर्णय भएको प्रतिष्ठान अध्यक्ष रीता थापा मगरले बताइन् । बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका उप–महासचिव शिरीष देवकोटाका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुंगो लगाउने निर्णयसमेत भएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल्ली वितरण र व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।
महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ । यसअघिको महाधिवेशनबाट रीता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । हाल प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायक पशुपति शर्मा छन् ।
प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् । जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति गरेर प्रतिष्ठानको १ सय भन्दा बढी शाखा समिति छन् ।