यी हुन् उनको स्वीटर चल्नुका पाँच कारण

काठमाडौं । नेपाली कथानक चलचित्र ‘उनको स्वीटर’ अहिले पनि उच्च अकुपेन्सीसहित चलिरहेको छ । वैशाख २६ गतेबाट रिलिज भएको यो चलचित्रले पहिलो शनिबार भन्दा दोस्रो शनिबार धेरै दर्शक पायो ।
पहिलो साताको डिल डे भन्दा दोस्रो साताको डिल डेमा राम्रो अकुपेन्सी सहित चल्यो । अझै त्यसपछि आएका चलचित्रभन्दा पनि यही सिनेमा राम्रोसँग चलिरहेको छ । अझै केही दिन यो सिनेमा चल्ने निश्चित छ ।
पहिलो हप्ताको कलेक्सन यो सिनेमाको ५ करोड ७५ लाख रुपैयाँ रहेको निर्माणपक्षले जनाएको छ । यसमा ठूलो रकम थपिइसकेको छ ।
यो सिनेमा चल्नुका पछाडि विभिन्न कारण छन् । पहिलो कारण हो, मिठो लभस्टोरी ।
दुईवटा प्रेम कहानी छ, ‘उनको स्वीटर’मा । दाजु र भाइको । भाइको लभस्टोरीले त दर्शकलाई छुँदैन । कन्भिन्सिङ पनि छैन । तर विपिन कार्की र मिरुना मगरको लभस्टोरी मिठो छ ।
सिनेमाको पहिलो हाफ र दोस्रो हाफको उत्तरार्धसम्म पुग्दा पनि लभस्टोरीले खासै छुँदैन । तर, अन्तिम अन्तिमतिर पुगेपछिको यी दुईको लभस्टोरीले दर्शकलाई इमोस्नल बनाउँछ । यो नै चलचित्रको सबैभन्दा राम्रो पक्ष हो ।
दोस्रो पक्ष हो, कल्चर । जनजाती समुदाय अथवा पूर्वी पहाडको लिम्बू समुदायको कल्चर यो चलचित्रमा छ । विशेषगरी जनजाति समुदायले आफ्नो कल्चरको अपनत्व लिन्छ ।
सबै समुदायमा यो यस्तो राम्रो चलन र एकता छैन । आफ्नो समुदाय, संस्कार र संस्कृति जोगाउन र त्यसलाई फैल्याउन जति राई, लिम्बू, मगर र जनजाति समुदायले गर्छ, त्यो अरुले गर्दैनन् । यो अरु समुदायले ग्रहण गर्नुपर्ने कुरा हो ।
यही नै ‘उनको स्वीटर’ चल्नुको प्रधान कारण होइन । तर, सहायक कारण भने हो ।
तेस्रो कारण हो, सांगीतिक पक्ष । ‘उनको स्वीटर’को होइप यसका गीतले बनाइदिए । ‘काफ्ले’ गीत अहिलेको भाइरल गीत हो । यो सिनेमाको प्रचारका लागि सञ्जिवनी बुटीसरह बन्यो । अरु गीत पनि यो चलचित्रका औसत रुपमा चले ।
पछिल्लो समय चलचित्रको प्रचार मात्रै होइन सिनेमा चलाउने तागत पनि गीतमा हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसैले चलचित्रभित्र नराखे पनि ओएसटी मात्रै भए पनि सिनेमाको प्रचारका लागि राखिन्छ ।
त्यसैले गीत राम्रो बन्दा यसको फाइदा ‘उनको स्वीटर’ले लियो । गीत हिट हुँदैन थियो भने यो सिनेमा चल्थ्यो नै भन्न सकिने अवस्था थिएन ।
गाउँले कथा र परिवेश यो सिनेमा चल्नुको चौथो कारण हो । पछिल्लो समय गाउँका कथाले बजार लिइरहेका छन् । देहातका कथा दर्शकले हेरिरहेका छन् ।
शहरबजारका झिलिकमिलिक र सुकिलामुकिलाका कथाभन्दा पनि गाउँका सामाजिक कथा, दुःख र पीडाका कथा, लेक, बेसी र पहाडका कथा दर्शकले रुचाइरहेका छन् ।
‘उनको स्वीटर’ पनि पूर्वी पहाडको उच्च पहाडी र मध्यपहाडी भूगोलमा खिचिएको छ । त्यहीँको कथा छ । त्यहाँको लोकेसन र जनजीवन छ, यो पनि ‘उनको स्वीटर’ चल्नुको अर्को कारण हो ।
पाँचौँ कारण हो, आर्टमाण्डू । आर्टमाण्डू म्युजिकल फिल्मका लागि अथवा लामालामा म्युजिक भिडियोका लागि स्थापित व्यानर हो । कथा भएका लामा लामा गीत र त्यसको म्युजिक भिडियो बनाएर संगीतप्रेमीको मन जितिसकेको व्यानर हो ।
यो व्यानरले म्युजिक भिडियोजस्तै सिनेमा बनाउला कि भन्ने अपेक्षाले सिनेमा हेरिनु र विश्वास गरिनु पनि ‘उनको स्वीटर’ व्यापारिक रुपमा सफल हुनुको कारण हो ।
यसबाहेक अभिनयसँगै अरुपक्ष त स्वत जोडिएर आउने नै भए । जसले चलचित्र चलाउन मद्धत गरे ।