चलचित्र ‘बाउ भर्सेस छोरा’ निर्माणकाे घोषणा

काठमाडौं । चलचित्र ‘बाउ भर्सेस छोरा’ निर्माण हुने भएकाे छ । चलचित्र ‘होस्टेल ३’काे टिमले फेरि नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ लिएर रजतपटमा आउन लागेका हुन् । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दै छ ।
यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ भनेर चित्रण गरिएको छ ।
चलचित्रले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।
यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’ को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ ।
यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । चलचित्रको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।