समीर र समीर भट्टहरू नेपाली चलचित्र उद्योगलाई चाहिरहन्छन्

पबन भट्टराई

काठमाडौं । समीर भट्टको जन्मदिनको अवसर पारेर चलचित्र ‘बलिदान’को प्रिटिजर रिलिज भएको थियो । प्रिटिजर रिलिजलगत्तै युट्युबको ट्रेन्डिङमा चढ्यो ।

नेपालमा मात्रै होइन, नेपाली डायस्पोरा ठूलो रहेका देशमा पनि युट्युबमा ट्रेन्डिङमा रह्यो । करिब डेढ दर्जन देशको युट्युबमा ‘बलिदान’को प्रिटिजर ट्रेन्डिङमा रह्यो । जुन सायद निर्माणपक्षले पनि अपेक्षा गरेको थिएन ।

‘बलिदान’को प्रिटिजर ट्रेन्डिङमा रहनुको कारण अरु केही थिएन, समीर भट्ट थिए । उनको लोभलाग्दो क्रेज थियो । ‘१२ गाउँ’बाट बनेको उनको क्रेज र बनेको स्टारडम थियो ।

किनकी प्रि–टिजरमा खासै धेरै केही थिएन, थियो त केबल उनको एक्सन र प्रतिसोधको चिच्च्याहट । धेरै कुरा केही थिएन । किनकी समीरका लागि उनको बर्थ गिफ्ट मात्रै थियो, निर्देशक सन्तोष सेनले दिएको ।

तर, त्यही बर्थ डे गिफ्टले मात्रै पनि दर्शकमा एक खालको तरङ पैदा गरिदियो । यसका थप कन्टेनले यो सिनेमाको हाइप र प्रतिक्षा थप बढाउने निश्चित छ । यतिबेला ‘बलिदान’ले आक्रामक ओपनिङ गर्छ भन्नेमा कसैलाई शंका छैन । यही चर्चा छ नेपाली सिनेवृत्तमा । दशैँमा सँगै आउने सिनेमालाई समीरको ‘बलिदान’ले ओझेलमा पारिदिन्छ भन्ने धेरैको अनुमान छ ।

अनुमान सही पनि हुनसक्छ । समीरको बलियो क्रेजमा कथा पनि त्यस्तै बलियो बनिदियो भने निःसन्देश सँगै आउने अरु सिनेमालाई नराम्रो असर पर्छ नै ।

समीरको यो क्रेजले साँचो अर्थमा कलाकारको स्टारडम कस्तो हुन्छ भन्ने देखाइदिएको छ । नेपाली सिनेमा उद्योगमा स्टारडमको चर्चा बाक्लै हुन्छ । समाचार बन्छन् । सिने क्षेत्र हो, गसिप त बन्ने नै भए ।

समाचार र गसिपजस्तै त्यो स्टारडम कलाकारको पारिश्रमिकमा पनि देखिन्छ । किन भने ५० लाखसम्म पारिश्रमिक एउटै कलाकारले लिएका समाचार थुप्रै आइसकेका छन् । नेपाली सिनेमा उद्योगका लागि ४०/४५ लाख पारिश्रमिक त सामान्य नै हो ।

तर, रियल स्टारडम बक्सअफिसमा प्रमाणित हुने हो । तर, त्यहाँ कसको स्टारडम कति छ बक्सअफिसले पटकपटक प्रमाणित गरिसकेको छ ।

५० लाख, ४० लाख, ४५ लाख पारिश्रमिक लिने कलाकारका सिनेमाले इनिसियल ओपनिङ त परकै कुरा लाइफटाइम ग्रसकलेक्सन उसले लिने पारिश्रमिक जति पनि नगरेका थुप्रै चलचित्र छन् । त्यसैले स्टारडम कति छ, हाम्रा कलाकारको त्यो घामजस्तै छलङ्ग भइसकेको छ ।

तर, पहिलो सिनेमामा समीर भट्टको भने गजबकै स्टारडम र क्रेज देखिएकै हो । ‘बलिदान’को प्रिटिजर आउँदासम्म पनि त्यो स्टारडम र क्रेज देखिएको छ ।

यो सिनेमाले बक्सअफिसमा कस्तो व्यापार गर्छ, त्यसले समीरको स्टारडम थप उकास्ने वा अरु कलाकारको जस्तै खस्कने हो निर्धारण गर्नेछ ।

तर, चलचित्र उद्योगमा केही स्टारडम भएका कलाकार पनि चाहिन्छ किन भने यसले सिनेमा उद्योगलाई चलायमान बनाउन र कमर्सियल बनाउन सहयोग गर्छ । निर्मातामा लगानी गर्न हौसला भर्न र हलमा दर्शक तान्न यसले ठूलो सहयोग गर्छ । त्यसैले नेपाली चलचित्र उद्योगलाई समीर र समीरहरूको खाँचो छ । र, रहिरनेछ पनि छ ।

तर, दर्शकले माया गरेका र स्टार पावर दिएका कलाकारले पनि आफूलाई अभिनय, नृत्य, डाइलग डेलिभरी, मिडिया हेन्डलिङ, कथा छनोट, समसामयिक विषय, समकालीन समाज, वर्ल्ड सिनेमा र सिनेमा पहिल्याउँदै गरेको बाटोबारे भने आफूलाई अपडेट गराउँदै लैजानै पर्छ ।