मनीषा कोइरालाले ‘ऊनको स्वीटर’ हेरेर के भनिन् ?

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्र ‘ऊनको स्वीटर’ हेरेकी छन् । वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहँदा बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा समेत कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

विशेष शोमा बलिउड अभिनेत्री कोइरालादेखि चर्चित अभिनेता एवं क्याप्टेन विजय लामा, नाजिर हुसेन, गायक राजेश पायल राई, आनन्द कार्की, संविधानविद् डा। भीमार्जुन आचार्य, नेतृ नबिना लामा, डा। लोचन रिजाल, पत्रकार दिलभुषण पाठक र अमन प्रताप अधिकारीले चलचित्र हेरेर आफ्ना गहकिला प्रतिक्रिया दिए ।

उनीहरूले ‘ऊनको स्वीटर’ले नेपाली समाजको विविधता, प्रेम र परम्परालाई संवेदनशील ढंगले प्रस्तुत गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

अभिनेत्री मनीषा कोइरालाले चलचित्रको खुलेर प्रशंसा गर्दै भनिन्, ‘ऊनको स्वीटर हेरेँ । कति सुन्दर र मन छुने प्रेमकथा रहेछ । जातीय सीमाहरू पार गरेर गरिने माया, सांस्कृतिक विविधताको जीवन्त प्रस्तुति, आत्मा छुने संगीत अनि सशक्त अभिनयले यो चलचित्र अविस्मरणीय बनाएको छ । हामी हाँस्यौँ, रोयौँ र नेपालभित्रको विविध आत्माको सुन्दरता अनुभव गर्यौं ।”

गायक राजेश पायल राईले भने, “चलचित्र अत्यन्त मीठो बनेको छ । निर्देशकको काम उत्कृष्ट छ भने कलाकारहरुको अभिनय उल्लेखनीय छ । यस्ता सुगन्धित फूलजस्ता प्रेमकथाले नेपाली सिने उद्योगमा गर्व गर्नलायक काम हुँदै छ ।”

अभिनेता तथा पाइलट विजय लामाले चलचित्रको कथा र निर्देशनको प्रशंसा गर्दै दर्शकलाई हलमै गएर अनुभव गर्न आग्रह गरे ।

नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय रहेको छ । यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि उत्कृष्ट व्यापार गरिरहेको छ ।