महानायकको प्रसंग कोट्याउँदै दीपकले राजेशलाई यसरी दिए शुभकामना

काठमाडौं । कलाकार दीपकराज गिरीले राजेश हमाललाई शुभकामना दिएका छन् । राजेशको आठ वर्षपछि रिलिज हुन लागेको चलचित्र रिलिजको पूर्वसन्ध्यामा दीपकले शुभकामना दिएका हुन् ।
लामो स्टाटस लेख्दै दीपकले शुक्रबारबाट रिलिज हुन लागेको राजेशको चलचित्र ‘नरसिंहा अवतार’लाई लिएर शुभकामना दिएका छन् । महानायकसँग सम्बन्धी केही प्रष्टिकरण दिँदै उनले शुभकामना दिएका हुन् ।
“चलचित्रहरूलाई धेरै शुभकामना दिइयो । तर, आजको शुभकामना केही फरक छ । हुनत शुभकामना भनेर फोटो राखेर ब्याख्या नगरी लेख्ने छुट पनि थियो मलाई । तर मेरो मनले मानेन त्यसैले केही शब्दहरू कोर्दैछु,” दीपकले लेखेका छन्, “मैले ठूलो पर्दाको कलाकारको रूपमा पहिलो फिल्ममा अभिनय गरेँ जसको नाम चोर थियो । त्यसमा राजेश हमालज्यूसँग पर्दामा सँगै देखिने अबसर जुट्यो । त्यसपछि पहिलो फिल्म निर्माण गर्ने मौका पाएँ, छ एकान छ । त्यसमा पनि राजेश हमालज्यूले अभिनय गरिदिएर हामिलाइ गुन नै लगाउनु भएको थियो । हाम्रा चलचित्रहरूले सफलता प्राप्त गरिरहँदा हलमा आएर बधाई पनि दिनुभएको थियो ।”
दीपकले देश तथा विदेशमा आफूले राजेशसँग थुप्रै कार्यक्रम गरेको र सधैँ भेघघाटहरू सौहार्दपूर्ण हुने गरेको उनले बताएका छन् ।
“देश र विदेशमा थुप्रै स्टेज कार्यक्रमहरूसँगै गरियो । उहाँसँगै घन्टौँ गफ गरेर रमाइलो गरेको पनि हिजो जस्तै लाग्छ । तर, पछिल्ला समयमा स्थिति केही फरक भैदियो । चार वर्ष अघिको त्यो घटना सम्झन्छु ,जुनबेला कोभिडको माहामारी चलिरहेको थियो । त्यतिबेला मेरो सहकर्मीले उहाँबाट यस्तो बेलामा समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिव्यक्ति दिँदा केही त्रुटि हुन गयो जसलाई संजालले यसरी ट्विस्ट गरिदियो की उहाँलाइ जनताले दिएको पदवीमाथि नै हाम्रो आपत्ति छ अथवा दाबी नै छ भन्ने भाष्य निर्माण भइदियो । जुन आफैँमा उदेकलाग्दो अपत्यारिलो र असहज थियो ।”
पछिल्ला दिनमा भेट हुँदा पनि त्यही आदरभावले नै भेट्ने गरको उनले बताएका छन् । आफू जहाँ पुगे पनि संस्कार चाहिँ भुल्नु हुन्न भन्ने कुरा आफूले राम्ररी बुझेको बताएका छन् ।
“मेरो लेखाइ यहाँसम्म आइपुग्दा मैले आफैँले एउटा पोडकाष्टमा भनेको कुरा याद आयो । जसले तिमीलाई बुझेका छन् उनीहरूलाइ बुझाउनै पर्दैन । जसले तिमीलाई बुझ्न चाँहदैनन्, उनले लेखेका छन्, “उनीहरूले टाउको फुटाए पनि बुझ्दैनन् । जे होस् दुनियाले जे सुकै भनोस्, कुछ तो लोग कहेगेँ । त्यसै पनि आजकल संजाल भनेको गाली, गलौच, घृणा र द्वेष फैलाउने असंवेदनशील माध्यमको रूपमा परिचित छ । तर, हामी कलाकारहरूबाट समाजले सधैँ प्रेम, स्नेह र संस्कार नै खोजिरहेको हुन्छ । त्यसैले आज सही समय आएको छ । पुन ः एकपल्ट त्यो संस्कार प्रदर्शन गर्ने । त्यही प्रेमभाव कायम गर्ने ।”
मनका कुरा लेखिसकेपछि दीपले अन्तिममा यसरी दिएका छन्, शुभकामना, “८ वर्षपछि रजतपटमा आफ्नो चलचित्र लिएर फर्कनु भएका आदरणीय महानायक राजेश हमाल दाइलाई चलचित्र नरसिंहा अवतारको धेरै धेरै शुभकामना । मनग्गे सम्मान छ, त्यो झनै बढ्दै जाओस् ।”