तेस्रो सातामा ‘ऊनको स्वीटर’, गर्‍याे ८ करोड १० लाख ग्रस कलेक्सन

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । १२० भन्दा बढी शोसहित देशभर ‘ऊनको स्वीटर’ले राम्राे प्रदर्शन गरिरहेकाे छ ।

निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालीका अनुसार, चलचित्रले दुई साताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको बताइएको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको याे चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ ।

दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् ।