‘वरिष्ठ बलराम’को वरिष्ठ बलराम दयाहाङ राई कि विजय बराल ?

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ अहिले पोस्ट प्रोडक्सनको टेबलमा छ । चैत अन्तिममा छायांकन सकेको निर्माणपक्ष यतिबेला धमाधम पोस्टको काममा व्यस्त छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ चितवनका विभिन्न स्थानमा छायांकन गरिएको थियो । लोकेसनका आधारमा यसले तराई र पहाडको कथा भन्ने प्रष्ट पार्छ ।

सामाजिक कथावस्तु पस्किने चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रमा मुख्य भूमिकामा को छ ? दयाहाङ राई अथवा विजय बराल मुख्य भूमिकामा हुन् भन्ने निर्माणपक्षले प्रष्ट पारेको छैन ।

पछिल्लो समय ‘पूर्ण बहादुरको सारङ्गी’ पछि विजय बराल पनि मुख्य भूमिकामा अभिनय गर्दै आएका छन् । त्यसैले यी दुईमध्ये को मुख्य भूमिकामा हुन् भन्ने अहिलेसम्म प्रष्ट छैन ।

प्रायः मंगोल फेसको मान्छेको नाम बलराम हुँदैन । तर, हुँदै नहुने पनि होइन । यसले यो सिनेमाको मुख्य भूमिकामा हो भन्ने थप कन्फ्युजनमा राखेको छ ।

‘वरिष्ठ बलराम’ले लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डिओपी मानकृष्ण महर्जनको छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको छ ।

यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्ने भएका छन् ।