बाबु भैय्या बिना कस्तो होला ‘हेराफेरी ३’ ?

काठमाडौं । बलिउडको चर्चित कमेडी फिल्म सिरिज ‘हेराफेरी’ को तेस्रो भाग ‘हेराफेरी ३’ को तयारी भइरहेका बेला सिनेमाका प्रमुख पात्रमध्ये एक परेश रावल अब यसमा देखिने छैनन् । वर्षौंसम्म ‘बाबु भैय्या’को भूमिकामा दर्शकको मन जितेका रावलको बाहिरिनुले फ्यानहरुलाई निराश तुल्याएको छ ।
‘हेराफेरी ३’ करीब १९ वर्षपछि बन्न लागेको हो, जसलाई अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस अन्तर्गत निर्माण गर्न लागेका थिए ।
यो सिनेमामा अक्षयसहित सुनिल शेट्टी र परेश रावलको सहमति पनि भइसकेको थियो । तर, फिल्मको घोषणा भिडियो छायांकन अघि नै परेश रावलले फिल्म छाडेपछि सबै चकित बनेका थिए ।
रावलले फिल्म छाडेपछिको विवाद थपिँदै गएको थियो । उनले फिल्मको लागि ११ लाख भारु साइनिङ रकम लिइसकेको अवस्थामा निर्माण कम्पनीले २५ करोड भारुको क्षतिपूर्ति माग गर्दै कानुनी प्रक्रिया अगाडि बढाएको खबर बाहिर आएको थियो । तर, पछिल्लो रिपोर्टअनुसार परेशले त्यो रकम ब्याजसहित फिर्ता गरेका छन् ।
बलिउड हंगामाका अनुसार परेशले ‘हेराफेरी ३’ का लागि १५ करोड भारु पारिश्रमिक पाउने सहमति भएको थियो । सम्झौताअनुसार ११ लाख साइनिङ अमाउन्ट लिइसकेका उनी फिल्मको रिलिजपछि बाँकी रकम पाउने थिए । तर फिल्म सन् २०२६ को अन्त्य वा २०२७ को सुरुवातमा मात्रै रिलिज हुने योजनामा रहेकोले दुई वर्षसम्म पारिश्रमिक रोकिने कुरामा परेश असन्तुष्ट थिए ।
यसै कारण उनी फिल्मबाट अलग भएका हुन् भन्ने दावी गरिएको छ । तर, यो विषयमा अहिलेसम्म न त परेश रावल न त निर्माताहरूले आधिकारिक प्रतिक्रिया दिएका छन् ।
‘हेराफेरी’का फ्यानहरू अब बाबु भैय्या बिना फिल्म कस्तो बन्ने हो भन्ने चासोमा दर्शक छन् ।