चलचित्र ‘परिवर्तन’को घोषणा, को–को छन् कलाकार ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् ।

‘माझी दाइ’, ‘आमाको काख’लगायत दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ, जसले कानुनप्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबिचको संघर्षको कथा भन्नेछ ।

यो चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउनेछ ।

चलचित्रमा अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिने छन् । सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ । करिश्माले यसअघि सरोज खनालको निर्देशन रहेको ‘बगान’मा काम गरेकी थिइन् । त्यसयता उनी कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।

दिब्यासी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायीका साथै समाजसेवामा सक्रिय व्यक्ति हुन् ।

समाज परिवर्तनका पक्षपाती सिवाकोटीले सामाजिक मुद्दालाई सशक्त माध्यम चलचित्रमार्फत उठान गर्ने उद्देश्यले यो चलचित्र निर्माणमा हात हालेका हुन् । सिवाकोटीले नै चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् ।

छायांकन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।

‘परिवर्तन’ चलचित्रको छायांकन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायांकन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ ।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि २०२८ सालमा चलचित्र निर्माण भएको थियो । जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।