नेपालको झण्डासहित स्टल राखेर कान्सबाट फर्कियो एक्लो टिम

काठमाडौं । नेपाली चलचित्र ‘एक्लो’ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा उपस्थिति जनाउँदै फर्किएको छ ।

निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो साइफाइ थ्रिलर चलचित्रले फ्रान्सको कान्स सहरमा आयोजित फेस्टिभलमा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेको थियो ।

स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भए ।

नेपाली चलचित्रको लागि कान्स फिल्म फेस्टिभलमा एक्लोको यो उपस्थिति उल्लेखनीय छ । कान्समा नेपाललाई छायांकन गर्ने उत्कृस्ट गन्तब्यको प्रचार समेत गरिएको थियो ।

कान्समा ‘एक्लो’यो प्रचार प्रसारले नेपाली चलचित्र क्षेत्रलाई विश्वभर पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने निर्देशक प्रदीप शाहीको विश्वास छ ।

शाही यस वर्षको कान्स प्रोड्यूसर्स नेटवर्कका लागि पनि चयन भएका छन्, जसले उनलाई विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान समेत दिलाएको छ ।

‘एक्लो’ चलचित्रको कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ, जसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ । जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ ।

चलचित्रमा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जनलगायतको अभिनय छ ।