विश्वभरका खण्डित आवाजलाई जोड्दै किम्फ बुधबार सुरू हुने

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औँ संस्करण यही बुधबार १४ जेठ २०८२ देखि आइतबार जेठ १८ गतेसम्म हुने भएको छ ।

महोत्सव ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जीएए हलमा आयोजना हुने भएको छ । खण्डित आवाज, जोडिदैँ कथाहरू) नारा अन्तर्गत ३० देशका ६५ भन्दा बढी चलचित्र किम्फमा प्रदर्शन हुनेछन् ।

किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुलेका चलचित्रहरू विशेषगरी नेपाली दर्शकका लागि ल्याएको छ । त्यससँगसँगै नेपाली चलचित्रहरूको छनोटमा स्वदेशी प्रतिभाले बनाएका चलचित्रहरू प्रदर्शन हुनेछन् जसले समकालीन नेपालको कथा देखाएको छ ।

“यसपालिको चलचित्र र कार्यक्रमहरूमार्फत नेपाली दर्शकहरूलाई मनोरञ्जन गराउनका साथसाथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद सुरु होस् भन्ने हाम्रो उद्देश्य रहको छ,” किम्फ फाउन्डेसनको अध्यक्ष रम्यता लिम्बू भन्छिन् ।
नेपालमै पहिलोपटक प्रदर्शन हुन लागेको ‘बिट्विन द माउन्टेन एण्ड द स्काइ’ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरु हुनेछ । जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यो डकुमेन्ट्री फिल्मले सीएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यक्तिगत जीवनलाई नजिकबाट देखाँउछ ।

नेपाल–चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजांग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ, जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ ।

यसपालिको संस्करणमा निर्णायकमण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिंकी चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) हुन् ।

निर्णायकमण्डलले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन् । नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र (६ छनोट) र उत्कृष्ट आख्यान (११ छनोट) चयन गर्ने जिम्मेवारी पनि निर्णायकमण्डलले लिनेछन् ।

अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १००० अमेरिकी डलरले पुरस्कृत गरिनेछ ।

नेपाली चलचित्र मध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रुचाएको चलचित्रलाई सबैलाई एक लाख रुपियाँ पुरस्कार दिइनेछ । यो वर्ष केयू उदयवान चलचित्रकर्मीलाई पनि १००० अमेरिकी डलर दिइनेछ ।

यसै संस्करणमा किम्फले पहिलोपल्ट काठमाडौं डक ल्याब कार्यशाला पनि सुरु गर्ने भएको छ । दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाँउ दिन बनाइएको यो कार्यशाला १०–१४ जेठमा सञ्चालन हुनेछ । यही कार्यशालमा छनोट भएका नौ दक्षिण एसियाली सहभागीहरूलाई पाकिस्तानी चलचित्रकर्मी अनम अब्बास, भूटानी निर्देशक अरुण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्टु थोमसद्वारा प्रशिक्षण दिइनेछ ।

त्यही सिकाइलाई प्रयोग गर्दै सहभागीले किम्फमा आफ्नो वृत्तचित्रको बारेमा दर्शकसामु प्रस्तुत गर्नेछन् । उत्कृष्ट तीन सहभागीलाई नेपाल चलचित्र विकास बोर्ड, किम्फ फाउन्डेसन र नेपाल फिल्म इनिसिएटिभबाट कुल चार हजार ५०० अमेरिकी डलर दिइनेछ ।

कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको पटकथा कार्यशालाबाट पनि महिला निर्देशकहरूले आफ्नो छोटो वृत्तचित्रको बारेमा प्रस्तुत गर्नेछन् ।

निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशाला पनि हुनेछ । यससँगै भिआर र तस्वीर प्रदर्शनी पनि ठमेलस्थित कला सलोनमा हुनेछ ।

टिकटको मूल्य रु. १५० तोकिएको छ भने विद्यार्थीको लागि १०० रुपैयाँ रहनेछ ।