के गर्दैछ ‘कोशेढुंगा’को टिम, के भन्छन् निर्देशक पौडेल, कसरी हुँदैछ प्रचार ?

काठमाडौं । निर्देशक सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ अहिले प्रोष्ट प्रोडक्सनमा छ । भदौ १२ गते रिलिज हुने चलचित्रको पोष्टको सम्पूर्ण काम सकेर पूर्णरूपमा सिनेमाको पब्लिसिटीमा केन्द्रित हुने तयारीमा छ ।
यो सिनेमाले पूर्वीको झापादेखि पश्चिमको महेन्द्रनगरसम्म पब्लिसिटीका लागि निस्किने तयारी गरिरहेको छ । यसक्रममा ‘कोशेढुङ्गा’ले कन्टसर्टदेखि इनडोर कार्यक्रमसम्म गर्नेछ ।
विषयवस्तु र निर्माणका हिसाबले चलचित्र राम्रो बनेको र दर्शकको भरोसा रहेकाले आफू सिनेमालाई लिएर ढुक्क रहेको निर्देशक पौडेल बताउँछन् ।
“हामी छायांकनमा जहाँ जहाँ पुग्यौँ, त्यहाँ जाँदा हामीलाई स्थानीय सरकारदेखि स्थानीय जनताले यसपटक छुट्टै आतिथ्यता प्रदान गर्नुभयो,” निर्देशक पौडेलले भने, “पूर्ण बहादुरको सारङ्गीको निर्देशकले बनाउँदै गरेको सिनेमा भनेपछि हामीलाई हेर्ने दृष्टिकोण र व्यवाहार नै फरक भयो ।”
दर्शकले गरेको भरोसालाई नमार्ने उनको विश्वास छ । चलचित्र ‘कोशेढुङ्गा’को गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायाकंन गरिएको थियो । ललितपुरको च्यासलस्थित सेटमा पनि छायांकन गरिएको थियो ।
यो सिनेमा भदौ १२ गते रिलिज हुँदैछ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहनेछ । सिनेमाको लिडमा सुरक्षा पन्त छिन् ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् ।
यस चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।