सहकारी ठगी प्रकरणको कथामा बनेको ‘महाभोज’लाई प्रिभ्यु शोमा सहकारी पीडितबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते (भोली बिहीबार) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु शो सम्पन्न भएको छ ।
मंगलबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष प्रदर्शनमा पत्रकार, चलचित्र युनिट तथा देशभरका सहकारी पीडितहरूमध्येबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको उपस्थिति थियो ।
चलचित्र सार्वजनिक हुनुअघि गरिएको प्रिभ्यु शोमा चलचित्र हेरेपछि अधिकांशले कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा गरे ।
‘महाभोज’ले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढगंले चित्रण गरेको छ ।
चलचित्र हेरेपछि सहकारी पीडितहरूले ‘महाभोज’ ले आफ्ना भोगाइ र पीडालाई पर्दामा सजीव रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिए । उनीहरूले चलचित्रले न्यायका लागि आफूहरूलाई अझ प्रेरित बनाएको बताएका थिए ।
एक पीडित प्रतिनिधिले भने, “राज्यले नसुनेको हाम्रो आवाज ‘महाभोज’ ले पर्दाबाट बुलन्द बनाएको छ।”
चलचित्रको विषयवस्तु तथा प्रस्तुतीकरणलाई लिएर सञ्चारकर्मीहरूबाट समेत सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक यथार्थलाई कलात्मक शैलीमा प्रस्तुत गर्न सफल रहेको भन्दै चलचित्रको प्रशंसा गरिएको छ ।
निर्देशक दिनेश राउतको निर्देशन, लेखक विकास सुवेदीको लेखन र सम्पूर्ण टिमको मेहनतको खुलेर प्रशंसा गरे । उनीहरूका अनुसार, ‘महाभोज’ केवल चलचित्र होइन, एक सशक्त सामाजिक दस्तावेज बनेको छ ।
यहीबीच, देशभरका प्रमुख मल्टिप्लेक्स र सिङ्गल स्क्रिन हलहरूमा चलचित्रको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । वितरकहरूका अनुसार, चलचित्र करिब २०० शोमार्फत नेपालभर प्रदर्शनमा आउनेछ ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी काण्डसँग सम्बन्धित गम्भीर सामाजिक विषयमा आधारित छ ।
चलचित्रले सहकारी संस्थामा डुबेको रकमले ल्याएको संकट, पीडितहरूको वेदना, कर्मचारीहरूको मानसिक द्वन्द्व र राजनीतिक हस्तक्षेपलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । साथै, पात्रहरू मार्फत हास्यरसको समावेश गरी चलचित्रलाई मनोरञ्जक बनाइएको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
‘महाभोज’का निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।