‘महाभोज’को प्रदर्शन स्थगित

काठमाडौं । भोलि बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने भनिएको चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित गरिएको छ ।
देशभर फैलिरहेका आन्दोलन र असहज परिस्थितिका कारण प्रदर्शन स्थगित गर्नुपरेको निर्माणपक्षको भनाइ छ ।
निर्माणपक्षले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका छन् ।
निर्माता हिमाल कडरियाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाल देशमा देखिएको आन्दोलन र जटिल परिस्थितिले जनजीवन प्रभावित भइरहेको छ। यस्तो संवेदनशील अवस्थामा हामी दर्शकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा विदेशमा पनि हाललाई स्थगित गर्ने निर्णयमा पुगेका छौँ ।”
चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।
‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूमा केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।
साथै, निर्माण टिमले दर्शक, वितरक, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति निरन्तर साथ, समर्थन र समझदारीका लागि अपेक्षा राखेको छ ।
दिनेश राउत निर्देशित चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ ।
‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ ।
