माखो नमार्ने फिल्म फेस्टिभल !

नेपालमा बाक्लै संख्यामा फिल्म फेस्टिभल हुँदै आएका छन् । वर्सेनि ठूलो संख्यामा फिल्म फेस्टिभल हुँदै आएका छन् । नियमित रूपमा हुँदै आएका फिल्म फेस्टिभलको संख्या पनि कम छैन ।

अहिले नै किम्फ फिल्म फिल्म फेस्टिभल भइरहेको छ । निफ फिल्म फेस्टिभल केही समयअगाडि मात्रै सकिएको थियो । केही समयमै डायस्पोरामा फिल्म फेस्टिभल हुँदैछन् । अमेरिकामा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तत्काल हुँदैछ ।

यी प्रतिनिधि फिल्म फेस्टिभल मात्रै हुन् । यस्ता थुप्रै फिल्म फेस्टिभल छन्, जो नियमित हुँदै आएका छन् । एक/दुई वर्ष चलेर बन्द भएका थुप्रै फिल्म फेस्टिभल छन् । कति तयारीमा पनि होलान् ।

तर, यी फिल्म फेस्टिभल कहिले सुरु हुन्छन् र कहिले सकिन्छन् भन्ने पत्तै हुँदैन । आम दर्शकलाई मात्रै होइन चलचित्र उद्योगकै कति चलचित्रकर्मीलाई यस्ता अवार्डबारे अत्तापत्तो नहुने अवस्था छ । थाहा हुनेलाई पनि यी फेस्टिभलमा खासै चासो रहेको देखिँदैन ।

फिल्म फेस्टिभलमा सिनेमाकर्मीकै उत्साह नदेखिनु दुर्भाग्यको विषय हो ।

फिल्म कल्चर बसाउने यस्तै फिल्म फेस्टिभल र अवार्ड कार्यक्रमहरूले हो । सिनेमाप्रति आम नागरिकमा चासो जगाउने काम फिल्म फेस्टिभल र अवार्ड कार्यक्रमहरूले नै हो ।

फिल्म फेस्टिभल र अवार्ड कार्यक्रमहरू वास्तवमा सिनेमाकर्मीको चौघेरा नाघेर बाहिर आम नागरिकमा जानसक्नुपर्छ । यस्ता फिल्म फेस्टिभल र अवार्ड कार्यक्रममा चलचित्रकर्मीसँगै आम नागरिकको उत्साहपूर्ण सहभागिता हुनुपर्छ । होइन भने यी हुनु र नहुनुको सार्थकता रहँदैन ।

तर आम नागरिकमा फिल्म फेस्टिभलप्रति चासो देखिँदैन । यसका कारण धेरै छन्, त्यसमध्ये हरेक फिल्म फेस्टिभलमा हुने एकै प्रकारका सेसन, विषय र पात्र एक हो । हरेक फिल्म फेस्टिभलमा डिस्कोर्षको विषय एउटै हुन्छ, ती डिस्कोर्षका पात्र उही हुन्छन् र तिनीहरूले बोल्ने कुरा पनि उही र उस्तै हुन्छ ।

न डिस्कोर्षका सहभागी वक्ताहरूले आफूले के बोल्ने भनेर मेहनत गरेको देखिन्छ र सहजकर्ताले विषय खोतल्न रिसर्च गरेको देखिन्छ । अझ ओठ निचोर्दा दूध झर्लाजस्ता आलाकाँचा सहजकर्ता भएपछि वक्ताले तयारी गरेर आए पनि विषयको गहिराइमा कसरी पुग्नु । सहजकर्ताले नै चुरो कुरा नकोट्याएपछि वक्ता आफैँ जान्ने पल्टिएर पनि भएन ।

त्यसमा पनि सहजकर्ता र वक्ता उस्तै भएपछि के हेर्ने, किन हेर्ने, केका लागि हेर्ने अनि किन त्यस्ता फिल्म फेस्टिभलमा समयको बर्बादी गर्ने भन्ने प्रश्न उठ्नु स्वभाविक हो । त्यसैले औपचारिकतामै सीमित छन्, यी कार्यक्रम ।

त्यसैले फिल्म फेस्टिभल नाम मात्रैका भएर हुँदैन । नाफाकेन्द्रित भएर सञ्चालन गरिएका फेस्टिभलबाट त फिल्मकल्चर बसाउने अपेक्षा राख्नु नै मुर्खता हो ।

फिल्म फेस्टिभल जसले एउटा नयाँ सिनेमा ओपनिङ सिनेमाका रूपमा देखाउन सक्दैनन्, फेस्टिभललाई सिनेमा दिन मेकर तयार हुँदैनन् भने त्यस्ता फेस्टिभलमा कसरी दर्शक आकर्षित हुन्छन् । र, सिनेमालाई सिनेमा कल्चर बसाउन भूमिका खेल्न सक्छन् । पहिला फिल्म फेस्टिभल आफैँ सक्षम, सवल र विश्वस्नीय हुुनुपर्छ । होइन भने कमजोर फिल्म फेस्टिभल जति नै संख्यामा भए पनि यीनले माखो मार्दैनन् । सिनेमाको स्तरउन्नतीमा केही पनि भूमिका खेल्न सक्दैनन् ।

बिरालो बाँधेर श्राद्ध गर्ने उखानलाई चरितार्थ गर्नेबाहेक केही काम लाग्दैनन् । यस्ता फेस्टिभल बन्द हुनु र निरन्तरता पाउनुले केही अर्थ राख्दैनन् । मेकरले नै भरोसा नगर्ने फेस्टिभललाई दर्शकले कसरी गरुन् विश्वास ? त्यसैले पहिला आफू बलियो बन अनि मात्रै भूमिका प्रभावकारी हुन्छ ।