बजेटले बेवास्था गरेको चलचित्र उद्योग, बनेपाको इनडोर स्टुडियोको कुरै आएन, बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिने !

काठमाडौं । चलचित्र क्षेत्र सधैँ सरकारको बेवास्थामा पर्दै आएको छ । चलचित्र क्षेत्रलाई सरकारले नजरअन्दाज गर्दै आएको छ ।
सम्बन्धित व्यक्ति र ठाउँमा पुग्दा चलचित्र क्षेत्र उद्योग भइसकेको र अब प्राथमिकतामा राख्ने बताउने सरकार र नेताहरू नीति तथा कार्यक्रम र बजेटमा भने पूर्णतया बेवास्था गर्दै आएका छन् ।
आज प्रस्तुत बजेट हेरे मात्रै पुग्छ । सरकारको आज प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा एक लाइनमा चलचित्र उद्योग सीमित भएको छ ।
हुन त कहिले काहीँ एक लाइन पनि बजेट भाषणमा पर्याप्त हुन्छ । तर, त्यो उद्देश्य र नीयतमा भर पर्छ । बजेटका यो क्षेत्र प्राथमिकतमा नपर्ने मात्रै होइन बेवास्थामा प¥यो ।
सरकारले चलचित्रको छायांकनका लागि आउटडोर तथा इनडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएको छ ।
“नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्र छायांकन गर्न इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ,” अर्थमन्त्री विष्णु पौडेलले भने । यति हो आजको बजेटमा चलचित्र अटाएको ।
सरकारले आफैँ बनाउने कुरा उल्लेख गरेको छैन । बनेपामा ठेक्का लागिसकेको र निर्माण शीलान्यासको घोषणा गरिएको इनडोर स्टुडियोबारे सरकारले केही बोलेको छैन ।
बहुवर्षिय योजना अन्तगर्त रहेको भनिएको यो स्टुडियोको बजेटबारे केही उल्लेख हुन्छ कि भन्ने अपेक्षा चलचित्रकर्मीमा थियो । बजेट यसमा मौन बस्यो ।
अघिल्लो महिना मात्रै १६ वर्षको प्रतिक्षापछि सिनेमा छायांकनका लागि इनडोर स्टुडियो निर्माण कार्य सुरु भएको घोषणा गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तामझामका साथ स्टुडियो निर्माण सुरु भएको उद्घोष गरेका थिए ।
चलचित्र विकास बोर्डका अनुसार ४२ रोपनी क्षेत्रफलमा इनडोर स्टुडियो बन्नेछ ।
स्टुडियो निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ । बोर्डले २०८१ माघ २७ गते आर्थिक वर्ष ०८१÷८२ का लागि बोलपत्र आह्वान गरेर बोलकबोलका आधारमा स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीलाई दिएको छ ।
स्टुडियो ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँ बजेट छुट्याइएको छ । प्रक्रिया अगाडि बढ्यो । काम सुरु हुनु आफैँमा सकारात्मक पक्ष हो । तर, यो बहुवर्षिय योजना हो । हरेक वर्ष बजेट बिनियोजन हुनुपर्छ ।
करिब ३७ वर्ष लाग्छ यो स्टुडियो बन्न । त्यसैले यो परियोजना सक्न यसमा सरकारको विशेष ध्यान दिनै पर्छ । यो सक्ने बेलासम्म बजारभाउ महंगिँदै जाँदा आधा अर्ब छेउमा यसको बजेट पुग्नेछ ।
त्यसैले सरकारको प्राथमिकतामा परेन भने स्टुडियो दोलखामा बन्ने भनिएको फिल्म सिटीकै हालत हुनसक्छ । दोलखाको डाङडुङे डाँडामा बन्ने भनेको फिल्म सिटी अलपत्र अहिले अलपत्र परेको छ । सरकारले तदारुकता देखाएन भने फिम्म सिटीकै नियती दोहोरिने सम्भावना हुन्छ ।