खगेन्द्रलाई भ्याइनभ्याइ, पोल्टामा रिलिजको लाइनअपदेखि अनटाइटल सिनेमासम्म

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने पछिल्लो समय व्यस्त छन् । अभिनयदेखि निर्माणसम्म काम गर्दा उनी व्यस्त छन् ।
खगेन्द्र निर्देशन, निर्माण, लेखन र अभिनयमा सक्रिय हुँदा उनको व्यस्थता बढेको हो ।
केही साता अघि प्रर्दशन भएको चलचित्र ‘के घर के डेरा : घर नं २’मा उनी मुख्य भूमिकामा देखिएका थिए । जुन चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ । ‘के घर के डेरा : घर नं २’को उनी हिरो हुन् ।
चलचित्र ‘महाभोज’ यही १५ गतेबाट रिलिज हुने तयारीमा थिए । स्पेशल प्रिभ्यू भइसकेको सिनेमा रिलिजको अघिल्लो दिन प्रदर्शन स्थगित भयो ।
‘महाभोज’मा उनी मुख्य कलाकारमध्येका एक हुन् । राजावादी र एमालेको काठमाडौंमा १५ गते नै प्रदर्शन हुने भएपछि निर्माणपक्षले प्रदर्शन स्थगन गरेको थियो ।
अब कहिले यो सिनेमा प्रदशर्नमा आउँछ भन्ने निश्चित नभए पनि चाँडै रिलिज हुने पक्का छ ।
खगेन्द्रको मुख्य भूमिका रहेको चलचित्र ‘मेयर’ पनि प्रर्दशनको पर्खाइमा छ । वाग्मती नगरपालिका मेयर भरत थापाको जीवनीमा आधारित रहेर बनेको यो सिनेमाको मेयर खगेन्द्र हुन् ।
दीपेन्द्र के खनालको निर्देशन रहेको यो सिनेमा दशौँ हजारको रियल क्राउडको उपस्थितिका कारण चर्चामा छ । पोलिटिकल सिनेमा, विवादित पात्र र दशौँ हजारको रियल क्राउडका कारण यो चलचित्र प्रतिक्षित बनेको छ ।
विवादमा नपरेका पात्रले विवादित पात्रका बारेमा बनाएको सिनेमामा खगेन्द्रले राजनीतिज्ञको भूमिका कसरी निभाएका छन्, कौतुहलताको विषय हो ।
खगेन्द्रको अभिनय रहेको चलचित्र ‘विमान–९एनएबीबी’ पनि छायांकन सकेर पोस्टप्रोडक्सनमा छ । सत्य घटनामा आधारित रहेर निर्माण भइरहेको यो चलचित्र वि.सं. २०३० मा भएको नेपालको विमान अपहरण (विराटनगर विमान अपहरण)को विषयमा छ । यो नेपालको इतिहासको पहिलो विमान अपहरण हो ।
उक्त विमान अपहरणको मुख्य नाइके नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला थिए । जो पछि नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री समेत भए ।
चलचित्रमा खगेन्द्र लामिछाने, ऋचा शर्मा, अरुण क्षेत्री, चक्र दवाडी, कुशल पाण्डे, शुन्दर धिताल, सुशील सिटौला, लोकेन्द्र लेखक, निकुन श्रेष्ठलगायतको अभिनय रहनेछ ।
चलचित्रको कथा खगेन्द्र लामिछाने र यज्ञस पण्डितले संयुक्त रूपमा लेखेका छन् ।
‘विमान–९–एनएबीबी’लाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । खगेन्द्र यो चलचित्रको निर्माता पनि हुन् ।
अब खगेन्द्र अर्को एउटा अनटाइटल मुभीको छायांकनको तयारीमा छन् । स्रोतका अनुसार यो सिनेमालाई दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन् ।