निर्माताको दाबी र सरकारी बक्सअफिस रिपोर्ट किन फरक पर्छ ?

काठमाडौं । नेपालमा फिल्मको व्यापारबारे यथार्थ जानकारी नपाइनु पुरानै समस्या हो । निर्माता र सरकारी बक्सअफिसले उपलब्ध गराउने रिपोर्टबीच ठूलो अन्तर देखिनु सामान्यजस्तै भइसकेको छ ।

यद्यपि, हाल अधिकांश हलहरूमा रियल टाइम बक्सअफिस प्रणाली जडान भइसकेको छ । घोषणा हुन भने बाँकी छ । तथापि, व्यापारिक आँकडामा निर्माताको दाबी र बक्सअफिस तथ्यांकबीच लाख होइन कराडौँ रुपैयाँको फरक देखिनुले यसको विश्वस्नियतामा प्रश्न उठाइरहेको छ ।

हालै प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ऊनको स्वीटर र नरसिंहा अवतारको उदाहरण हेर्ने हो भने निर्माताले सार्वजनिक गरेका व्यापारिक रिपोर्ट र सरकारी तथ्यांकबीच ठूलो अन्तर छ ।

ऊनको स्वीटरले तीन सातामा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको दाबी निर्माणपक्षले गरिरहेको छ । तर, चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार ग्रसकलेक्सन ८ करोड ९० लाख रुपैयाँमा सीमित छ । यसरी हेर्दा १ करोड १५ लाख रुपैयाँको फरक छ ।

नरसिंहा अवतारको हकमा पनि निर्माता र सरकारी रिपोर्टबीच ८० लाख रुपैयाँभन्दा बढीको अन्तर छ । निर्माताले फिल्मले एक सातामा २ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको जनाए पनि सरकारी तथ्यांक अनुसार यो रकम १ करोड २२ लाख रुपैयाँ मात्र छ ।

यसअघि पनि चलचित्र ‘ह्रस्वदीर्घ’ को रिपोर्टमा ६ करोड रुपैयाँको फरक देखिएको थियो ।

केही हलहरूमा अझै पनि बक्सअफिस प्रणाली नजोडिएकोले सानो रकमको अन्तर स्वाभाविक मानिए पनि करोडौंको अन्तर देखिनु गम्भीर विषय हो । यस्तो प्रवृत्तिले दर्शकमाझ निर्माताको विश्वसनीयता गुम्दै गएको छ ।

विश्लेषकहरू भन्छन्, “यदी पारदर्शी प्रणाली लागु नभएमा नेपाली फिल्म उद्योगमा व्यापारको विश्वस्नियता असम्भवजस्तै हुन्छ । निर्माता र बक्सअफिसबीचको यो असमञ्जस्यले दीर्घकालीन रुपमा उद्योगलाई असर पुर्‍याउँछ ।”

चलचित्र क्षेत्रलाई पारदर्शी र विश्वस्नीय बनाउने हो भने सबै हलमा बक्सअफिस प्रणाली कडाइका साथ लागु गर्नु अनिवार्य छ । निर्माताहरूले पनि सत्य आँकडा मात्र सार्वजनिक गर्नुपर्ने आवश्यकता छ । होइन गलत आंकडा नै बाहिर ल्याउने हो भने भोलिका दिनमा विश्वास गुम्दै जाँदा लगानीकर्ता नै नभेटिने खतरा हुनेछ ।