‘जन्ते बाख्रो’मा बोकाको पनि महत्वपूर्ण भूमिका छ : प्रदीप भारद्वाज

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’मा बोकाको पनि महत्पूर्ण भूमिका रहेका निर्माणपक्षले जनाएको छ । चलचित्रको सार्वजनिक प्रचारप्रसार सामग्रीमा देखिएको ‘बोका’को पनि महत्वपूर्ण भूमिका सिनेमामा रहेको ‘जन्ते बाख्रो’का लेखक प्रदीप भारद्वाज बताउँछन् ।
“सिनेमाको पहिलो दृश्यदेखि नै बोकाको प्रसङ्ग जोडिएको छ, सोही कारण हामीले यसलाई प्रचारप्रसारमा अगाडि ल्याएका छौँ,” उनले भने ।
‘जन्ते बाख्रो’ले नेपाली परम्परालाई समेटेको यसका लेखक प्रदीप भारद्वाजले बताएका छन् । ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परालाई आधार बनाएर सिनेमा तयार गरिएको उनको भनाइ छ ।
“नयाँ विषय खोज्ने क्रममै आएको आइडिया हो जन्ते बाख्रोको कथा । यो दुई प्रकारको हुन्छ, एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्राएपछि हुने भतेर (भोज) मा खाइन्छ । सिनेमाको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको छ”, उनले भने ।
पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ मा परिणत भएका कारण पनि नयाँ पुस्तालाई संस्कृतिको विषयमा समेत सिनेमाले जानकारी दिने लेखक भारद्वाजको विश्वास छ ।
लेखक भारद्वाजका अनुसार नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई तयार भएको ‘जन्ते बाख्रो’ रमाइलो कमेडी सिनेमा हो । यसमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
यो सिनेमा आगामी जेठ २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, सिनेमा जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।