‘फिक्का फिक्का’मा सलोन-करिश्माको जोडी: आमेश र समिक्षाको स्वर

काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वरमा ‘फिक्का फिक्का’ बोलको गीत सार्वजनिक भएको छ ।

‘फिक्का फिक्का’ गीतको शब्द र संगीत गायक आमेश भण्डारीले नै तयार गरेका हुन् भने संगीत संयोजन विश्व अधिकारीले गरेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको उक्त गीतको भिडियो अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले अभिनय गरेका छन् ।

श्रीमान्-श्रीमती समेत रहेका सलोन र करिश्मा पहिलोपटक म्युजिक भिडियोमा देखिएका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सलोन र करिश्मा प्रेमभाव व्यक्त गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा उनीहरूको केमेस्ट्री आकर्षक देखिएको छ ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोमा सलोन र करिश्मालाई ध्यानमा राखेर गीत लेखिएको जस्तो लाग्छ ।

भिडियोको कोरियोग्राफी दावा बल तामाङले गरेका हुन् । सौरभ लामाको टिमले छायांकन गरेको भिडियोको सम्पादन दिनसन शाहले गरेका हुन् ।

यसअघि आमेशले अभिनेता सलोनको चलचित्र ‘रंगी’का लागि पनि स्वर दिएका थिए । यसपटक भने उनले म्युजिक भिडियोमार्फत पुनः सहकार्य गरेका हुन् ।